गण्डकी । प्रतिनिधिसभा सदस्य निर्वाचन हुन ९ दिन बाँकी रहँदा गण्डकी प्रदेशमा चुनावी तयारी तीव्र पारिएको छ । सुरक्षादेखि व्यवस्थापकीय प्रबन्धसम्मका कामलाई गति दिइएको हो ।
प्रदेशका ११ वटै जिल्लामा मतपत्रसहितका निर्वाचन सामग्री पुगिसकेको प्रदेश निर्वाचन कार्यालय, पोखराले जनाएको छ । कार्यालयका सूचना अधिकारी रुद्रनाथ न्यौपानेका अनुसार सम्बन्धित जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालय अन्तिम तयारीमा जुटेका छन् ।
मतदान कार्य सञ्चालनका लागि खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा अन्य कर्मचारी व्यवस्थापन र खटनपटनको काम भइरहेको छ । केही जिल्लामा मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम सम्पन्न भइसकेको छ भने केहीमा सुरु गर्ने तयारी छ ।
जिल्ला निर्वाचन कार्यालय, बागलुङका प्रमुख यज्ञप्रसाद रिजालका अनुसार बुधबार र बिहीबार तालिम सञ्चालन गरिनेछ । तालिमपछि फागुन १८ गते कर्मचारीहरू सम्बन्धित मतदानस्थलमा पुग्नेछन् । गण्डकीमा १४ हजारभन्दा बढी कर्मचारी निर्वाचनमा खटिने भएका छन् ।
उनका अनुसार बागलुङमा चुनावको करिब ९० प्रतिशत तयारी पूरा भइसकेको छ । अब मतदानस्थल केन्द्रित तयारीलाई अघि बढाइनेछ । प्रदेशका प्रत्येक वडामा एक/एक जना स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ । सही तरिकाले मतदान गर्ने अभ्यासमार्फत बदर मत घटाउने उद्देश्यले मतदाता शिक्षा दिइएको हो ।
निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदानको दिन नजिकिँदै गर्दा हरेक जिल्लामा एकीकृत निर्वाचन सुरक्षा योजना लागू गरिएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार चारवटै सुरक्षा निकाय परिचालित छन् ।
सम्बन्धित जिल्ला सुरक्षा समितिले मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरी सुरक्षा रणनीति तयार गरेको छ । नियमित अनुगमन र सुरक्षा विश्लेषणका आधारमा आवश्यक प्रबन्ध मिलाइएको जनाइएको छ । सुरक्षा व्यवस्थामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग परिचालित छन् ।
एकीकृत सुरक्षा योजना अनुसार नेपाल प्रहरीले मतदानस्थलको भित्री घेराको सुरक्षा सम्हाल्नेछ भने सशस्त्र प्रहरी बल दोस्रो तहमा र बाहिरी घेराबाट नेपाली सेनाले सुरक्षा प्रदान गर्ने व्यवस्था गरिएको छ ।
गण्डकी प्रदेशमा एक हजार २ सय ९७ मतदानस्थल र दुई हजार ३ सय ९६ मतदान केन्द्र रहेका छन् । कुल मतदाता सङ्ख्या १८ लाख ७० हजार ६५ पुगेको छ । विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा १६ लाख ६२ हजार २ सय ४६ मतदाता रहेका थिए । यसपटक दुई लाख सात हजार ८ सय १९ नयाँ मतदाता थपिएका छन् । प्रदेशमा १८ प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया