काठमाडौं । नेपाली कांगेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुक जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो विषय नभएको भन्दै आवेगको आधारमा निर्णय नगर्न मतदातालाई आग्रह गरेका छन् ।
मंगलबार मोरङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।
उनले चुनावी प्रतिष्पर्धालाई मर्यादित बनाउन समेत सबै दलहरुलाई आग्रह गरे ।
चुनावमा जाँदा विपक्षी दलमाथि गालीगलौज नगरी शान्त र सभ्य ढंगले अघि बढ्नुपर्ने उनको धारणा छ । उनले कतिपय राजनीतिक दलहरुले चुनावलाई युद्धसँग तुलना गर्ने गरेको उल्लेख गर्दै त्यस्तो मानसिकताले मुलुकको भलो हुन नसक्ने टिप्पणी गरे ।
उनले भने, ‘चुनावमा जाँदै गर्दा विपक्षीलाई गाली नगरिकन जानुपर्छ । चुनाव भनेको युद्धको मैदान होइन । कतिपयहरुले हामी युद्धमा छौँ भन्नुहुन्छ । यहाँ आवेगको कुरा छ, झोकको कुरा छ, रिसको कुरा छ, देखाउँला भन्ने कुरा छ । विगतमा फलाना फलानालाई हेरियो यो पालि अर्कोलाई भन्ने कुरा छ । के चुनाव हेर्ने कुरा हो ? चारदिन देखि लौकाको तरकारी खाइयो कति खानु भनेर घिरौलाको तरकारी खानु हो ? देश जिम्मा लगाउने कुरा भनेको स्वाद फेरेजस्तो कुरा होइन । विगतमा कसले के भूमिका कसरी निर्वाह गरेको छ ? मुलुकलाई विगतको कुन कालखण्डमा कसले सम्हाल्ने काम गरेको छ ? यो कुरालाई मतदाताले हेर्नुपर्छ ।’
शर्माले इतिहासका विभिन्न कालखण्डमा मुलुकलाई कसले सम्हाल्यो भन्ने कुराको हेक्का राखेर मात्र मतदानको निर्णय गर्न आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया