रविलाई देवराज घिमिरेको प्रश्न– ‘जिते पनि सांसद हुन पाउनुहुन्न, कुन नैतिकताले भोट मागिरहनुभएको छ ?’

लोकपथ
126
Shares

काठमाडौं । निर्वतमान सभामुख देवराज घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबिच आरोपप्रत्यारोप चलेको छ ।

झापा क्षेत्र नं २ मा एमालेबाट उम्मेदवार समेत रहेका घिमिरेमाथि लामिछानेने सभामुख हुँदा आफूहरुलाई बोल्न नदिएको आरोप लगाएका थिए ।

मंगलबार झापा–२ मा रास्वपाबाट उम्मेदवार बनेकी निवर्तमान उपसभामुख ईन्दिरा राना मगरलाई मत माग्दै लामिछानेले आक्रोश व्यक्त गरेका थिए ।

‘सभामुख हुँदा जनताको आवाज उठाउँदा माइक काट्ने निवर्तमान सभामुख देवराज घिमिरेज्यू कुन मुख लिएर भोट माग्दै हुनुहुन्छ ?,’ घिमिरेमाथि लामिछानेको आक्रोश थियो ।

यता निवर्तमान सभामुख समेत रहेका घिमिरेले त्यसबारे स्पष्ट पार्र्दै माइक काट्ने वा नकाट्ने भन्ने विषय नियमावली हुने र त्यसमा पहिले नै समय निर्धारण हुने समेत बताए ।

यता घिमिरेले उनीमाथि प्रश्न गर्दै सहकारी ठगीको मुद्दामा निर्वाचित भए पनि सांसद पदमा बहाल रहन नपाउने भन्दै आक्रोश व्यक्त गरे ।

‘रविजीले फैलाएको घृणाप्रति म खेद व्यक्त गर्दछु । तपाईंलाई जवाफ दिँदै म पनि भन्न सक्छु आफू निर्वाचित भएपछि सांसद पदमा बहाल रहन सक्ने कानूनी आधारसमेत नभएको अवस्थामा कुन नैतिकताले मत मागिरहनुभएको छ ? तर म आक्षेप र आफू माथि देखिन अरूलाई अपराधी देख्ने प्रवृत्तिको पक्षमा छैन । आफू माथि प्रतिशोध भएको भन्दै जनतालाई भावनामा बहकाउँदै अरूविरूद्ध अफवाह, घृणा र लान्छाना नलाउन अपिल गर्दछु,’ घिमिरेले भनेका छन् ।

त्यसो त लामिछानेले आफ्नो दलका तर्फबाट उम्मेदवार रहेकी उपसभामुखमाथि तत्कालीन समयमा मानव तस्करीको आरोप लगाइएको भन्दै त्यसमा कटाक्ष समेत गरेका थिए ।

यता घिमिरेले भने आफूसँग प्रतिष्पर्धी समेत रहेकी निवर्तमान उपसभामुखका विषयमा कुनै पनि टिकाटिप्पणी नगर्ने समेत बताएका छन् ।

घिमिरेले भनेका छन् :

प्रेस नोट बिर्तामोडमा आज रवि लामिछानेजीले ‘जनताको आवाज उठाउँदा माइक काट्ने सभामुख’ भनेर म विरूद्ध घृणा फैलाउने काम गर्नुभएछ । लोकतान्त्रिक अभ्यासमा, उम्मेदवार वा दलले आफ्नो कार्यक्रम, योजना र जनताका लागि आफ्ना एजेन्डाहरू प्रस्तुत गर्दछन् । घृणा, व्यक्तिगत आरोप वा विभाजन फैलाउने कुरा चुनावी प्रतिस्पर्धामा लामो समयसम्म टिक्दैन ।

जहाँसम्म संसदमा हरेक सदस्यले आफ्नो अभिव्यक्ति गर्ने अधिकार छ । तर, संसदीय अभ्यास अनुसार सबै वक्ताहरूको वक्तव्यलाई समान अवसर दिन र क्रमिक रूपमा छलफल सम्पन्न गर्न समय निर्धारण हुन्छ । माइक काट्ने/काटिने विषय सभामुखको व्यक्तिगत विचारले होइन, संसदमा पूर्वनिर्धारित समय र नियमावली अनुसार गरिएको हुन्छ । संसदीय अभ्यासको सामान्य जानकारी हुनेले यति कुरा नबुझ्ने भन्ने हुँदैन । उहाँ संसदको अभ्यास गरेर आउनुभएको व्यक्ति हो ।

संसदको वेबसाइटमा गएर हेर्न सकिन्छ- मैलेमात्र होइन उपसभामुख वा सभाको चेयर गरिरहेका अन्य माननीय भएका बेलामा पनि माइक काटिएको छ । अझ बढी काटिएको हुनुपर्दछ । रविजीले फैलाएको घृणाप्रति म खेद व्यक्त गर्दछु । तपाईंलाई जवाफ दिँदै म पनि भन्न सक्छु- “आफू निर्वाचित भएपछि सांसद पदमा बहाल रहन सक्ने कानूनी आधारसमेत नभएको अवस्थामा कुन नैतिकताले मत मागिरहनुभएको छ ?” तर म आक्षेप र आफू माथि देखिन अरूलाई अपराधी देख्ने प्रवृत्तिको पक्षमा छैन । आफू माथि प्रतिशोध भएको भन्दै जनतालाई भावनामा बहकाउँदै अरूविरूद्ध अफवाह, घृणा र लान्छाना नलाउन अपिल गर्दछु । झापा क्षेत्र नम्बर २ मा एउटै कार्यकालका सभामुख, उपसभामुख र प्रतिनिधि सभा सदस्य नै उम्मेदवार रहेकाले मैले प्रतिस्पर्धी उम्मेदवारबारे टिप्पणी नगर्ने प्रतिबद्धता यसअघि नै गरिसकेको स्मरण गराउँदछु ।

१२ फागुन २०८२

देवराज घिमिरे

निवर्तमान सभामुख बिर्तामोड, झापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?