कप्तान साम्बालाई कांग्रेसको आर्थिक सहयोग

लोकपथ
147
Shares

काठमाडौं ।  नेपाली कांग्रेसले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि पाँच लाख सहयोग गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज विज्ञप्ति जारी गरी साम्बा घुँडाको गम्भीर चोटका कारण हाल जटिल शल्यक्रियाको तयारीमा रहेको उल्लेख गर्दै उनको उपचारका लागि पार्टीको तर्फबाट उक्त सहयोग गरेको जानकारी दिए ।

साम्बाको उपचारका लागि कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्बाङलाई टेलिफोन संवाद गरी खेलाडीको उपचार कोषमा पार्टीका तर्फबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता बमोजिम एन्फाको ग्लोबल आईएमई बैंक लिमिटेडमा रहेको खाता नं ३४४०१०१०००११३७ मा सो नगद जम्मा गरिएको विज्ञप्तिमा उल्लेख छ ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको प्रतिष्ठा बढाउन महत्त्वपूर्ण योगदान गरेका प्रसिद्ध फुटबल खेलाडी ‘साम्बा’ प्रति उच्च सम्मान व्यक्त गर्दै पार्टीको तर्फबाट आर्थिक सहयोग गरिएको र यतिबेला हामी सबैले उनलाई साथ दिन जरुरी रहेको बताए। सभापति थापाले पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट उनको शीघ्र स्वास्थ्यलाभको कामना गरे । 

केएमसी अस्पतालले साम्बाको निःशुल्क उपचार गरिदिने 

यसैबिच काठमाडौं मेडिकल कलेज (केएमसी)ले राष्ट्रिय कप्तान साम्बाको निःशुल्क उपचार गरिदिने भएको छ । सो अस्पतालका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले विज्ञप्ति जारी गरी कप्तान साम्बाको निःशुल्क उपचार गरिदिने जानकारी दिए  ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?