निर्वाचनको वातावरण बिथोलिने अवस्था बन्दैन : रामप्रसाद भण्डारी

लोकपथ
49
Shares

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएकै मिति र समयमा निर्वाचन सम्पन्न हुने स्पष्ट पार्दै ढुक्क भएर तयारीमा जुट्न सबै राजनीतिक दल, उम्मेदवार र मतदातालाई आग्रह गरेका छन् ।

गोरखापत्र संस्थानले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले केही तत्वहरूले निर्वाचन बिथोल्ने प्रयास गरे पनि त्यस्तो प्रयास सफल नहुने जिकिर गरे । उनले फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान प्रक्रिया सञ्चालन हुने र निर्वाचन निश्चित रूपमा सम्पन्न हुने बताए ।

उनका अनुसार अझै पनि केही उम्मेदवारहरूले निर्वाचनबारे संशय व्यक्त गर्दै फोन गर्ने गरेका छन् । उनले भ्रममा नपरी प्रचार प्रसारमा सक्रिय हुन सुझाव दिए । ‘निर्वाचनको विकल्प निर्वाचन नै हो,‘उनले भने ।

भण्डारीले केही कुण्ठित व्यक्तिहरूले निश्चित उद्देश्य पूरा गर्न अनावश्यक हल्ला फैलाउन सक्ने उल्लेख गर्दै नेपाली जनता त्यस्ता प्रायोजित हल्लाको साक्षी बस्न नसक्ने बताए । निर्वाचनको वातावरण बिथोलिने अवस्था अब नबन्ने उनको दाबी छ ।

राजनीतिक दल, उम्मेदवार र तिनका कार्यकर्ताहरू प्रचार प्रसारमा सक्रिय रहेको उल्लेख गर्दै उनले नयाँ र पुराना सबै शक्तिहरूले निर्वाचनलाई नै मार्गका रूपमा स्वीकार गरेको बताए । सुशासनको पवित्र उद्देश्य बोकेर अघि बढिरहेका व्यक्तिहरूलाई भ्रममा पार्ने र अस्थिरता सिर्जना गर्ने प्रयास सफल नहुने उनले स्पष्ट पारे ।

निर्वाचन बिथोल्ने वा अस्थिरता निम्त्याउने कुनै पनि गतिविधि सरकारले निषेध गर्ने र आयोगले नजिकबाट अनुगमन गरिरहेको जानकारी दिँदै उनले वातावरण निर्माणमा देखिएका कमजोरी सुधार गर्न सरकारलाई आवश्यक सुझाव दिइरहेको बताए ।

उनले निर्वाचन आचारसंहिता पालना गर्न सबै सरोकारवालासँग आग्रह गर्दै केही सञ्चारमाध्यमहरूले मत सर्वेक्षण गरिरहेकोप्रति आपत्ति जनाए । पटक पटक आग्रह गर्दा पनि मत सर्वेक्षण नरोकेको गुनासो गर्दै उनले आचारसंहिता विपरीत कार्य गरे कारबाही गर्न बाध्य हुने चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?