काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालको समृद्धिको मुख्य आधार ऊर्जा क्षेत्र भएको भन्दै सरकारबाट लगानीमैत्री नीति, दीर्घकालीन स्थिरता र प्रतिबद्धता सुनिश्चित गर्न आग्रह गरेका छन् ।
झापा–५ का उम्मेदवार तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँगको निजी क्षेत्र संवाद कार्यक्रममा कार्कीले ऊर्जा क्षेत्रमा निजी लगानी भए पनि सरकारको नीतिगत अस्थिरता, लाइसेन्स वितरणमा लापरबाही र विद्युत् खरिदमा अनिच्छाका कारण चुनौती बढिरहेको बताए ।
उनले निजी क्षेत्रले दुई वर्षदेखि प्रोजेक्ट फाइल अघि बढ्न नसकेको गुनासो गर्दै सबै राजनीतिक दलले राष्ट्र निर्माणमा साझा एजेण्डा लिनुपर्ने उल्लेख गरे । उनले सरकार परिवर्तन हुँदा नीति परिवर्तन नहुने र लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।
कार्कीले भने, ‘हाम्रा थुप्रै समस्या छन्, किनभने यो देशलाई साँच्चै समृद्ध बनाउने सेक्टर ऊर्जा हो। बिजुलीले मात्रै अन्य सेक्टरहरू चल्न सक्छन्। हामीले लोडसेडिङ मुक्त हुने र विदेशीबाट बिजुली किन्ने विकल्पबारे सोच्नुपर्छ ।’
उनले निजी क्षेत्रले रिस्क लिन तयार रहेको र विदेशी लगानी ल्याउन इच्छुक रहेको बताए र सरकारसँग समर्थन वा जिम्मेवारी लिन माग गरे । साथै, ऊर्जासँग जोडिएका अन्य उद्योगहरूलाई पनि बचाउनुपर्ने आवश्यकतामा जोड दिँदै रोजगारी सिर्जना सुनिश्चित गर्नुपर्ने बताए ।
कार्कीले लाइसेन्समा ठुलो खर्च भए पनि सरकारले बिजुली नकिने नीति अपनाएको र निजी क्षेत्रलाई व्यापार गर्न नदिने कारण लगानीकर्ताहरू संकटमा परेको उल्लेख गरे । उनले आगामी सरकारले बलियो, बहुमतको र प्रतिबद्ध हुनुपर्ने माग गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया