काठमाडौं । बिहानै कलेज जाने किशोरी र युवतीलाई बाटो छेकेर यौन अंग देखाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले बुधबार अपरान्ह एक युवकलाई पक्राउ गरेको हो ।
कार्यालयको टोलीले बाजुराका २५ वर्षीय गोपाल खड्कालाई बुधबार अपरान्ह पौने ४ बजे कुपन्डोलबाट पक्राउ गरेको हो ।
पक्राउ परेका युवकले कुलेश्वर क्षेत्रका कलेजहरुमा जाने किशोरीहरुलाई बिहान ६ बजेको आसपास नै पिछा गरी बाटो छेकेर यौन अंग देखाउने र हस्तमैथुन गर्ने गरेको पाइएको छ ।
सार्वजनिकस्थलमै यौन अंग देखाउने, अपमानजनक व्यवहार गर्ने गरेपछि प्रहरीमा परेको उजुरीका आधारमा अनुसन्धान गर्दा खड्काको संलग्नता पाइएपछि उनलाई पक्राउ गरिएको हो ।
कस्तो थियो हुलिया ?
अग्लो शरीर, चिटिक्क परेको अनुहार र जीउडाल अनि सभ्य पोसाक । हेर्दा कुनै कलेजमा पढाउने शिक्षकजस्ता देखिने खड्का बिहानै कलेजको वरिपरी पुग्छन् । कक्षा ११ र १२ वा ब्याचलर पढ्ने किशोरी र युवतीसँगै बाटोमा हिँडेको देखिने उनी कुनै कलेजमा पढाउन जाँदै गरेका शिक्षक जस्ता देखिन्छन् ।
तर वास्तविकता भने फरक छ । हेर्दा यिनी जति सभ्य देखिन्छन्, यिनको व्यवहार भने त्यति नै घिनलाग्दो छ ।
बिहानै कलेज पढ्ने विद्यार्थीसँगै हिँडेको देखिने यिनी कलेज पढाउन गएका होइनन् । बरु कलेज पढ्ने विद्यार्थीहरुलाई यौन दुव्र्यवहार गर्दै हिँडेका कारण यिनलाई प्रहरीले पक्राउ गरेको छ । कुलेश्वर क्षेत्रमा कलेज पढ्ने किशोरी र युवतीमाथि यौन दुव्र्यवहार र सार्वजनिक स्थलमा यौन अंग देखाएका कारण काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले खड्कालाई बुधबार अपरान्ह पक्राउ गरेको हो ।

कुलेश्वर क्षेत्रका कलेजमा पढ्ने किशोरी र केही कलेजकै उजुरीको आधारमा आरोपितको खोजी गर्दा खड्काको संलग्नता भेटिएपछि सीसीटीभी फुटेजलगायत अन्य प्रमाणको आधारमा खड्कालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।
… एक युवकले बिहानै कलेज आउने युवती र किशोरीलाई पछ्याउने गरेको र किशोरी वा युवती एक्लै भएको मौका छोपी आफ्नो यौन अंग निकालेर हस्तमैथुन समेत गरी युवती वा किशोरीको कलेज ड्रेस र शरीरमा फाल्ने गरेको ……..
सीसीटीभी फुटेजमा के देखियो ?
करिब दुई साता अगाडि कुलेश्वरको एक कलेजले प्रहरी वृत्त कालिमाटी र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा एउटा ठाडो उजुरी दियो । उजुरीमा एक युवकले बिहानै कलेज आउने युवती र किशोरीलाई पछ्याउने गरेको र किशोरी वा युवती एक्लै भएको मौका छोपी आफ्नो यौन अंग निकालेर हस्तमैथुन समेत गरी युवती वा किशोरीको कलेज ड्रेस र शरीरमा फाल्ने गरेको उल्लेख थियो ।
एक किशोरीले कार्यालयमा दिएको उजुरीमा पनि आफूमाथि माघको २९ गते बिहान ६ः२० बजे कलेज जाने क्रममा एक युवकले बाटो छेकी आफूमाथि यौन दुव्र्यवहार गरी सार्वजनिकस्थलमै यौन अंग निकालेर अपमानजनक व्यवहार गरेर र वीर्य आफ्नो शरीरमा फालिदिएको उजुरी दिइन् ।
कलेज र पीडित किशोरीकै उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पीडकको खोजी सुरु गर्यो । किशोरीले भनेको मिति र समयको त्यस क्षेत्रको सीसीटीभी फुटेजको समेत अनुसन्धान भयो ।
सीसीटीभीको अनुसन्धान गर्दा युवकले ती एक किशोरी मात्रै होइन अन्य किशोरीहरुलाई पनि त्यस्तै अपमानजनक व्यवहार गरेको पाइयो ।
लोकपथलाई प्राप्त सीसीटीभी भिडियोमा यी युवक गत बिहीबार अर्थात् माघ २९ गते बिहान ६ बजेर ८ मिनेटको समयमा दुई जना युवतीको पछाडि मास्क लगाएर हिँडिरहेको देखिन्छ । सोही दिनको अर्को भिडियोमा एक युवती नजिकैबाट हिँडिरहेको देखिन्छ ।
तेस्रो भिडियोमा यी युवक अर्को एक किशोरीलाई पछ्याउँदै हिँडिरहेको र किशोरीको अनुहारतर्फ हेरेकोसमेत देख्न सकिन्छ ।
खैरो पाइन्ट, कालो हुडी र मास्क लगाएका यी युवक अर्को एक सीसीटीभी भिडियोमा पनि कलेज पोसाकमै रहेकी अर्की युवतीलाई पछ्याइरहेको देख्न सकिन्छ । यो बिहान ६ः२६ बजेको समयको सीसीटीभी भिडियो हो ।
लोकपथसँग कुराकानी गर्दा गोपालले आफूलाई केही दिनदेखि नकारात्मक साेच आउन थालेको र कुनै किशोरी वा युवतीले आँखा जुधाए ‘फिलिङ’ आउने गरेको बताए । उनले युवतीलाई पछ्याउँदा समेत सकेसम्म आँखा जुधाउने कोसिस गर्ने गरेको र आँखा जुधेपछि हस्तमैथुन गर्ने गरेको बताए ……
त्यसलगत्तै सोही दिनको अर्को ६ः२७ बजेको सीसीटीभी भिडियोमा यी युवक आफ्नो यौन अंग समाउँदै किशोरीभन्दा अगाडि पुगेर किशोरीको बाटो छेकी हस्तमैथुन गरी वीर्यलाई युवतीको शरीरतर्फ फालेको देखिन्छ ।
त्यसलगत्तै किशोरी डराएर भागेको सीसीटीभीमा देखिएको छ । प्रहरीमा आएको सूचना र निवेदनसँग घटना विवरणले मेल खाएपछि कार्यालयको टोलीले विगत केही दिनदेखि ती युवकको खोजी गरिरहेको थियो । र, अन्ततः बुधबार अपरान्ह ती युवकलाई ललितपुरको कुपन्डोल क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ ।
को हुन् आरोपित युवक ?
सार्वजनिक स्थानमा यौन अंग प्रदर्शन गर्ने, अपमानजनक व्यवहार र यौन दुव्र्यवहार गर्ने व्यक्ति हुन्, बाजुराका २५ वर्षीय गोपाल खड्का । बाजुराको बडिमालिका नगरपालिका–३ स्थायी ठेगाना भई काठमाडौं-१४ कलंकी सुनारगाउँ बस्ने खड्कालाई आफू बस्ने क्षेत्रमै अपमानजनक व्यवहार र यौन दुव्र्यवहार गरेपछि प्रहरीले पक्राउ गरेको हो ।
श्रीमती र बहिनीहरुसँगै बस्थे आरोपित
सार्वजनिक स्थलमा यौन अंग प्रदर्शन गर्ने र अपमानजनक व्यवहार गर्ने खड्का कलंकी क्षेत्रमै आफ्नी श्रीमती र दुईजना बिहिनीहरुसँगै बस्ने गरेका थिए । श्रीमती बिहान करिब पौने ६ बजे काममा जाने र बहिनीहरु पनि कलेज पढ्न गएपछि खड्का आफू पनि निस्किएर किशोरीलाई पछ्याउँदै यौन दुव्र्यवहार गर्न निस्कने गरेको पाइएको छ ।
पक्राउपछि लोकपथसँग कुरा गर्दै आरोपित खड्काले आफूलाई नकारात्मक फिलिङ आउन थालेकाले विगत १ महिनादेखि त्यस्तो गर्न थालेको बताए ।
श्रीमतीसँग लभ म्यारिज, मास्टर पढ्दै थिए युवक
बाजुराका खड्काले सिन्धुलीकी २२ वर्षीया युवतीसँग ४ वर्षअगाडि नै प्रेम विवाह गरेका थिए । गोपालकी श्रीमती सुनिता मोक्तान (परिवर्तित नाम) ले आफूहरुको वैवाहिक र पारिवारिक सम्बन्धमा कुनै समस्या नभएको बताएकी छिन् ।
तर श्रीमानले किन त्यस्तो अपमानजनक व्यवहार गरे भन्ने कुरा आफूलाई थाहा नै नभएको बताइन् ।
लोकपथसँग कुरा गर्दै सुनिताले आफू बिहान ६ बजेदेखि नै काममा जाने र बेलुका ६ बजे मात्रै कामबाट फर्कने गरेको बताइन् । आफू काममा जाँदा श्रीमान गोपाल सुतिरहेको हुने हुँदा आफूलाई त्यसबारे केही जानकारी नै नभएको बताइन् ।
सुनिताका अनुसार उनका पति गोपाल म्यानेजमेन्टमा मास्टर गर्दै छन् । आगामी केही दिनमा परीक्षा आइरहेको समेत उनले बताइन् । कुपण्डोलको एक स्थानमा काम गर्ने गोपाल बिहान १० बजे गएर साँझ ९ बजेतिर मात्रै घर फर्कने गरेका थिए । उनले के कति कारणले त्यस्तो व्यवहार गरे, थाहा नै नभएको सुनिताले बताइन् ।
कहिलेकाहीँ धेरै रिसाउने र आफैसँग कुरा गरेको जस्तो गर्थे गोपाल
सुनिताका अनुसार उनका पति गोपाल बेलाबेलामा अत्यधिक रिसाउने र आफूसँग कुरा गरेको जस्तो पनि गर्ने गर्दथे । सुनिता सामान्य लेखपढ मात्रै गर्ने व्यक्ति भएका कारण उनी कलंकी क्षेत्रमै सामान्य काम गर्थिन् । उनले फेसबुक चलाउँदा पनि गोपालकै फेसबुक चलाउने गरेकी थिइन् । फेसबुक वा सामाजिक सञ्जालमा कहिलेकाहीँ अन्य व्यक्तिहरुसँग आपत्तिजनक गाली गर्ने गरेपनि युवतीहरुसँग कुराकानी गर्ने गरेकोबारे थाहा नभएको उनले बताइन् ।
गाली नगर्नुस्, त्यस्तो नबोल्नुस् भन्दा आफूलाई समेत ब्लक गरिदिने र रिसाएर कहिलेकाहीँ घरबाटै हिँड्ने गरेको सुनिताले बताइन् । यद्यपि मानसिक समस्या देखिएको जस्तो व्यवहार नगरेको र कुनै औषधी सेवन नगरेको सुनिताको भनाइ छ ।
‘आँखा जुधाए फिलिङ्स आउँथ्यो’
पक्राउकै क्रममा लोकपथसँग कुराकानी गर्दा गोपालले आफूलाई केही दिनदेखि नकारात्मक फिलिङ आउन थालेको र कुनै किशोरी वा युवतीले आँखा जुधाए फिलिङ आउने गरेको बताए । उनले युवतीलाई पछ्याउँदासमेत सकेसम्म आँखा जुधाउने कोसिस गर्ने गरेको र आँखा जुधेपछि हस्तमैथुन गर्ने गरेको बताए । यद्यपि आफूलाई कुनै मानसिक समस्या नभएको उनले बताए ।
आफूलाई त्यसरी युवतीको पिछा गरेर हस्तमैथुन गर्दा सुरुमा आनन्द आउने भएपनि पछि भने पश्चाताप हुने गरेको उनले बताए ।
पहिले पनि गरेका थिए अपमानजनक व्यवहार
गोपालले दुई वर्षअगाडि पनि गौशाला क्षेत्रमा यस्तै अपमानजनक व्यवहार गरेको पाइएको छ । गौशाला क्षेत्रमा नाबालिकाहरुको अगाडि यौन अंग देखाएर अपमानजनक व्यवहार गरेपछि स्थानीयले गोपाललाई नियन्त्रणमा लिई कुटपिटसमेत गरी गौशाला प्रहरीमा बुझाइदिएका थिए ।
त्यतिबेला गोपालले आफूलाई पिसाब रोक्न समस्या हुने र पिसाब फेर्दा अरुले देखेको भन्दै माफी मागेर छुटेको पाइएको छ । त्यतिबेला प्रहरीमा कसैले पनि उजुरी वा जाहेरी नदिएको कारण उनी छुटेका थिए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रामेश्वर कार्कीले खड्काको सम्बन्धमा अनुसन्धान जारी रहेको र शुक्रबार अदालतबाट म्याद लिई जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाउने बताए । उनले खड्कामाथि अपमानजनक व्यवहार या यौन दुव्र्यवहारसम्बन्धी कसुरमा अनुसन्धान हुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया