दुर्गा प्रसाईंको रिहाइ माग्दै देशभर आन्दोलन घोषणा

लोकपथ
322
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई ससम्मान रिहा नगरिएको भन्दै प्रसाईँको सचिवालयले नेपाल बन्दसहित चरणबद्ध आन्दोलन घोषणा गरेको छ ।

‘हाम्रो राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक प्रसाईँलाई बिना ठोस कारण हिरासतमा राखिएको आरोप लगाउँदै सचिवालयले यस कदमलाई नागरिकको वाक स्वतन्त्रता र प्रजातान्त्रिक अधिकारमाथिको दमन भनेको छ ।

सचिवालयद्वारा जारी विज्ञप्तिमा सरकारलाई पटक–पटक गरिएको शान्तिपूर्ण आग्रह बेवास्ता गरिएकाले बाध्य भएर कडा आन्दोलनको घोषणा गरिएको उल्लेख छ ।

विज्ञप्तिअनुसार फागुन ६ गतेदेखि देशभर अनिश्चितकालीन नेपाल बन्द गरिनेछ । बन्दका क्रममा उद्योग, कलकारखाना, यातायात, शिक्षण संस्था र व्यापारिक प्रतिष्ठान बन्द गर्न आह्वान गरिएको छ । साथै, मुख्य चोक र जिल्ला सदरमुकामहरूमा शान्तिपूर्ण प्रदर्शन तथा कोणसभा आयोजना गरिने जनाइएको छ ।

सचिवालयले वैदिक सनातन हिन्दु अधिराज्य र राजसंस्था पुनःस्थापनापछि मात्रै चुनाव हुनुपर्ने मागसमेत अघि सारेको छ । साथै, महाअभियानले उठाएका २७ बुँदे माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?