प्रतिज्ञा पत्रबारे सभापति थापासँग भोलि खुल्ला प्रश्नोत्तर गरिने

लोकपथ
14
Shares

काठमाडौं । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञा पत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर गर्ने भएको छ । आज जनकपुरमा सार्वजनिक गरेको प्रतिज्ञा पत्रको विस्तृत जानकारी गराउँदै पार्टी सभापति गगनकुमार थापाले खुला प्रश्नोत्तर गर्ने जानकारी दिए ।

भोलि बिहीबार दिउँसो १ बजेदेखि काठमाडौंको राष्ट्रिय सभागृहमा हुने ‘हाम्रो प्रतिज्ञा–तपाईंको प्रश्न’ कार्यक्रममा सभापति थापाले प्रतिज्ञा पत्रका बारेमा देशविदेशबाट प्रश्न लिँदै जवाफ दिने भएका हुन् । सभापति थापाले ठूलो ‘एलइडि स्क्रिन’मार्फत प्रतिज्ञापत्रको संक्षेपमा जानकारी गराउने कार्यक्रम रहेको कांग्रेसका प्रवक्ता देवराज चालिसेले बताए  ।

उनले भने ‘कांग्रेसले आज मधेसको राजधानी जनकपुरबाट सार्वजनिक गरेको प्रतिज्ञापत्रका बारेमा बिहीबार काठमाडौंमा विस्तृतमा जानकारी दिने र त्यसमा उल्लेखित विषयमा खुला प्रश्नोत्तर कार्यक्रम राखिएको छ ।’ प्रविधिको प्रयोग गरेर संसारभरिबाट प्रत्यक्ष रुपमा प्रश्न सोध्न सकिने र त्यसमा प्रत्यक्ष रूपमा सभापतिले जवाफ दिने व्यवस्था गर्न लागिएको प्रवक्ता चालिसेले जानकारी दिए ।

कार्यक्रमस्थल राष्ट्रियसभा गृहमा सहभागीबाट पनि प्रश्न लिने र त्यसको जवाफ सभापतिले थापाले दिने व्यवस्था मिलाइएको छ । कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने र आगामी पाँच वर्षमा गर्ने योजनाको खाका प्रतिज्ञापत्रमार्फत सार्वजनिक गरेको छ । 

प्रतिज्ञापत्रमा समेटिएका विषयलाई आम नागरिकले प्रश्न गर्न र जिज्ञासा राख्न पाउने छन् । नेपालको राजनीतिक इतिहासमा चुनावी घोषणापत्रका बारेमा नागरिकले प्रश्न गर्ने र सम्बन्धित दलका नेताले सार्वजनिक र प्रत्यक्ष रूपमा जवाफ दिने अभ्यास पहिलो पटक हुन लागेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?