…. जब प्रहरी देखेपछि गाडी छाडेर जंगलमा १२ किलोमिटर भागे चालक

लोकपथ
210
Shares

काठमाडौं । नियमित चेकजाँचका क्रममा प्रहरीले केरकार गरेपछि तरकारी बोक्ने गाडीका चालक जंगलमा १२ किलोमिटर टाढासम्म भागेका छन् । बुधबार बिहान ललितपुरको बागमती नगरपालिकामा नियमित चेकजाँचका क्रममा प्रहरीले केरकार गरेपछि गाडीका चालक जंगलभित्र १२ किलोमिटर टाढासम्म भागेका हुन् ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्तासमेत रहेका एसपी गौतम मिश्रका अनुसार तरकारी बोक्ने गाडीमा तरकारीका खाली क्रेट बोकेर मकवानपुरको हेटौँडातर्फ जाँदै गरेको हात्ती गाडी नियमित चेकजाँचका लागि रोकिएको थियो । धादिङबाट सातदोबाटो हुँदै कान्ति लोकपथको बाटो भएर जाँदै गरेको ना.३.च ४०५ नम्बरको हात्ती गाडीलाई बुधबार बिहान ०८:४० बजे ललितपुरको बागमती गाउँपालिका ३ छपेलीमा रोकेर चेकजाँच सुरु गरिएको थियो ।

गाडीको चेकजाँच गर्ने क्रममा तरकारीको खाली क्रेटको ठिक तल फल्स बटम बनाएको देखिएको थियो । त्यसपछि फल्स बटम किन बनाएको र त्यहाँभित्र के छ भनी सोधपुछ सुरु गरिएपछि सो गाडीका चालक नगेन्द्र श्रेष्ठ गाडीबाट ओर्लेर छपेलीको जंगलतर्फ भागेका थिए ।

एसपी गौतम मिश्र, प्रवक्ता, जिल्ला प्रहरी परिसर ललितपुर ।

गाडी छाडेर चालक भागेपछि प्रहरी चौकी भट्टेडाँडाबाट थप प्रहरीसमेत आई छपली जंगलभित्र खोजतलास गर्दै गर्दा करिब १२ किलोमिटर टाढा बागमती गाउँपालिका २ बगुवाको जंगल क्षेत्रमा फेला पारी पक्राउ गरियो । गाडी छाडेर फरार भएका श्रेष्ठलाई खोज्न करिब साँढे २ घण्टा लागेको एसपी मिश्रले लोकपथलाई बताए ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका ७ स्थायी ठेगाना भई मकवानपुरको हेटौँडा बस्ने २८ वर्षीय नगेन्द्र श्रेष्ठलाई नियन्त्रणमा लिई फल्स बटम खोलेर हेर्दा उक्त गाडीभित्र १५ वटा पोकामा १५३ किलो लागू औषध गाँजा बरामद भएको छ ।

तरकारी बोक्ने गाडीमा माथि तरकारीको क्रेट र त्यसको तल फल्स बटम बनाएर गाँजा तस्करी गर्दा शंका नहुने भएकाले त्यसरी गाँजाको तस्करी गरिएको हुनसक्ने प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?