मधेस प्रदेशमा रास्वपालाई गम्भीर धक्का : संस्थापक सभापतिले नै गरिन् पार्टी परित्याग 

पार्टी विधि र विधानविपरीत चलेको र पैसा लिएर टिकट बाँडेको आरोप

लोकपथ
280
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टी परित्याग गरेकी छिन् । उनले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा पेस गरेकी हुन् ।

संस्थापक सभापति शर्माले आज बुधबार एक विज्ञप्ति जारी गर्दै पार्टीमा इमानदार व्यक्तिहरूको मूल्यांकन नभएको र आर्थिक अनियमितता भएको आरोपसमेत लगाएकी छिन् । 

‘आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू प्रेरित भएकोले मेरो आत्मसम्मान र राजनीतिक मूल्यहरूमाथि आँच आएको छ । यी सबै क्रियाकलापहरूको साक्षी बनेर म अब मौन रहिरहन असमर्थ छु । त्यसकारण आजकै मितिदेखि साधारण सदस्यसमेत नरहने गरी आफ्नो राजीनामा पेस गर्दछु ।’

शर्माले २०७९ साल साउन १० गतेदेखि सो पार्टीमा आबद्ध थिइन् । उनले आफ्नो योग्यता, क्षमता र समय समर्पित गर्दै निरन्तर योगदान पुर्याउँदै आएकी थिइन् । तर, फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनसम्बन्धी पार्टीले अवलम्बन गरेको पद्धति, निर्णय र कार्यशैली पार्टीको मूल्यमान्यतासँग विपरीत रहेको पनि उनले बताएकी छिन् । 

बाराकी ममताले रास्वपालाई मधेसमा एक एक गरी फूलको माला जस्तै जोडेकी थिइन् । मधेसमा एकढिक्का बनाएर आठ जिल्लामा चिनाएकी थिइन् । तर पार्टीका पार्टी प्रवक्ता मनिष झा र अमरेश सिंहको मिलेमतोमा रविले पैसामा टिकट अर्कैलाई बाँडेपछि उनी असन्तुष्ट भएकी थिइन् । साथै संस्थापक सभापति शर्माले टिकट नपाएपछि पार्टीभित्र आन्तरिक विवाद सतहमा देखिएको थियो ।

उनले पार्टीका सभापति, प्रवक्ता र उच्च तप्कामा बसेका शीर्ष नेताहरूलाई पटक पटक टिकटमा किन अन्याय भयो भनेर प्रश्न गर्दा उनको प्रश्नलाई पार्टीले बेवास्ता गर्दै आएको थियो ।

यस्तो छ राजीनामा पत्र

मिति:- २०८२/११/६

केन्द्रीय कार्यालय
राष्ट्रिय स्वतन्त्र पार्टी
काठमाडौं, नेपाल।

विषय: साधारण सदस्यबाट समेत नरहने गरि राजीनामा सम्बन्धमा।

श्रदेय,
म रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति तथा वर्तमानमा केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्यको हैसियतले २०७९ श्रावण १० गतेदेखि आजसम्म आफ्नो योग्यता, क्षमता, दक्षता र समय समर्पित गर्दै पार्टीप्रति निस्वार्थ भावले निरन्तर योगदान पुर्‍याउँदै आएकी छु।

‘राजनीतिमा युवा पुस्ता आउनुपर्छ’ र ‘जान्नेलाई छान्ने’ भन्ने मूल नाराले प्रेरित भई म यस पार्टीमा आवद्ध भएकी थिएँ। तर आसन्न फागुन २१ गतेको निर्वाचन सम्बन्धित पार्टीले अवलम्बन गरेको पद्धति, पार्टीको निर्णय तथा कार्यशैली रास्वपाको स्थापनाकालिन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा ठिक विपरित भएको अनुभव गरेको छु।

संगठनमा दिनरात खटिएका क्षेमतवान घण्टी मित्रहरूको योगदानको उचित मूल्यांकन नभएको, विधि र विधान विपरीत क्रियाकलापहरू भएको , पार्टीका सिद्धान्तहरू व्यवहारमा कार्यान्वयन नभएको र मुलत: आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरु प्रेरित भएकोबाट मेरो आत्मसम्मान र राजनीतिक मुल्यहरुमाथि आंच आउने परिस्थिति बनेको छ; यी सबै क्रियाकलापहरुको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छु।

त्यसकारण आजकै मितिदेखि लागू हुने गरी म यश पार्टीको साधारण सदस्य समेत नरहने गरी आफ्नो राजीनामा पेश गर्दछु।

यस अवधिसम्म पार्टीले दिएको अभिभावकत्व, सहकार्य र अवसरका लागि हार्दिक आभार व्यक्त गर्दछु।

धन्यवाद

भवदीया,
ममता शर्मा
बारा, मधेस प्रदेश ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?