चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल

लोकपथ
14
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने  बताएका छन् ।

ग्याल्पो ल्होसार २०८२ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले नेपाल बहुजातीय, बहुभाषिक, बहु धार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्र भएको उल्लेख गरे । 

उनले ग्याल्पो ल्होसारजस्ता पर्वहरूले सबै नेपालीबिच एकता, सामाजिक–सांस्कृतिक ऐक्यबद्धता र पारस्परिक सद्भाव बढाउँदै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न योगदान पुग्ने विश्वास व्यक्त गरे।

राष्ट्रपतिले शेर्पा समुदायको प्रमुख पर्व ग्याल्पो ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गरे ।

नेपालका हिमाली क्षेत्रमा बसोबास गर्ने आदिवासी शेर्पासहित महायान बौद्ध धर्मावलम्बी समुदायले फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षका रूपमा ग्याल्पो ल्होसार मनाउने परम्परा छ । यस अवसरमा गाउँघर, टोलका बाटोघाटो तथा पानीका मूल सरसफाइ गर्ने, नौ प्रकारका अन्न मिसाइएको ‘गुथुक’ र ‘खाप्से’ जस्ता परिकार सामूहिक रूपमा खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने चलन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?