बङ्गलादेशका प्रधानमन्त्रीद्वारा निर्वाचनको सफलताको कामना

लोकपथ
14
Shares

काठमाडौं । बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले आगामी फागुन २१ गते नेपालमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

ढाकास्थित नेपाली राजदूतावासका अनुसार मंगलबार साँझ बङ्गलादेश भ्रमणमा रहेका बालानन्द शर्मासँगको भेटमा प्रधानमन्त्री रहमानले नेपालमा आसन्न संसदीय निर्वाचनको सफलताको कामना व्यक्त गरेका हुन् । 

भेटका क्रममा परराष्ट्रमन्त्री शर्माले बङ्गलादेशको प्रधानमन्त्री नियुक्ति भएकोमा रहमानलाई बधाई दिँदै सुशीला कार्कीले पठाएको बधाई सन्देश हस्तान्तरण गरे ।

सन्देशमा प्रधानमन्त्री कार्कीले रहमानलाई बधाई दिँदै आपसी सम्मान, साझा प्रतिबद्धता र साझेदारीको भावनाका साथ दुवै देश र जनताको साझा हितका लागि सहकार्य गर्न नेपाल तयार रहेको उल्लेख गरेकी छन् ।

दूतावासका अनुसार परराष्ट्रमन्त्री शर्माले लोकतान्त्रिक प्रक्रिया सफलतापूर्वक सम्पन्न गरी सहज सङ्क्रमण सुनिश्चित गरेकोमा बङ्गलादेश सरकारको प्रशंसा गर्दै नेता रहमान नेतृत्वको बङ्गलादेश नेशनलिस्ट पार्टीले बहुमत हासिल गरेकोमा बधाई ज्ञापन गरे ।

प्रधानमन्त्री रहमानले शपथग्रहण समारोहमा सहभागी भएकोमा मन्त्री शर्मालाई धन्यवाद दिँदै यसले नेपाल सरकार र जनताका तर्फबाट बङ्गलादेश सरकार र जनताप्रति दर्साइएको सद्भाव र एकताको प्रतिबिम्ब भएको बताए ।

भेटवार्तामा दुवै पक्षले नेपाल र बङ्गलादेशबीचको दिगो साझेदारी अझ सुदृढ बनाउने प्रतिबद्धता दोहोर्‍याउँदै व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल विस्तार, शिक्षा र पर्यटनलगायत क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल गरेका थिए ।

यसअघि परराष्ट्रमन्त्री शर्मा बङ्गलादेशको नवनिर्वाचित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यहरूको शपथग्रहण समारोहमा सहभागी भएका थिए । साथै उनले बङ्गलादेश जमत‑ए‑इस्लामीका नेता शफिकुर रहमानसँग पनि भेटवार्ता गरेका छन् । उक्त भेटमा द्विपक्षीय सहकार्यका प्रमुख क्षेत्रबारे विचारविमर्श भएको बताइएको छ ।

परराष्ट्रमन्त्री शर्मा बिहीबार स्वदेश फर्कने कार्यक्रम छ। प्रधानमन्त्री रहमानको शपथ समारोहमा सहभागी हुन उनी गत सोमबार ढाका प्रस्थान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?