काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर लगातार बढ्दै गएको छ । आज मध्याह्नमा १७८ रहेको वायु गुणस्तर सूचकाङ्क (एक्युआई) बढेर १९१ पुगेको छ, जुन ‘सबैका लागि अस्वस्थ’ श्रेणीमा पर्छ ।
यसले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटुरोगीलाई बढी असर पार्ने विज्ञहरूको चेतावनी छ । एयर क्वालिटी इन्डेक्स (एक्युआई) का अनुसार आज काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहरको सूचीमा परेको छ ।
सूचीमा भारतको दिल्ली २२९ एक्युआईसहित पहिलो र पाकिस्तानको लाहोर २०३ एक्युआईसहित दोस्रो स्थानमा छन् । वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वर्षा नहुँदा आगामी दिनमा प्रदूषण अझै बढ्न सक्ने बताए ।
वर्षाले हावामा रहेको धुलो र सूक्ष्म कणलाई जमिनमा झार्न मद्दत गर्ने भएकाले लामो समयसम्म सुक्खा मौसम रहँदा प्रदूषणको मात्रा उच्च हुने उनको भनाइ छ । दिगो तथा वातावरणमैत्री विकासका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई सुझाव दिइएको पनि उनले जानकारी दिए ।
वातावरण अभियन्ता वर्षा पराजुलीका अनुसार उपत्यकामा सवारीसाधनको तीव्र वृद्धि, डिजेल तथा पेट्रोलबाट निस्कने धुवाँ, निर्माणाधीन सडक तथा पूर्वाधार परियोजनाबाट उड्ने धुलो, वन डढेलो र लामो समयसम्मको सुक्खा मौसम वायु प्रदूषणका मुख्य कारण हुन् । यदि समयमै नियन्त्रणका उपाय अपनाइएन भने स्थिति अझ जटिल बन्न सक्छ,‘उनले चेतावनी दिइन् ।
एक्युआई मापदण्डअनुसार ०–५० राम्रो, ५१–१०० सचेत रहनुपर्ने, १०१–१५० अस्वस्थ, १५१–२०० सबैका लागि अस्वस्थ, २०१–३०० धेरै अस्वस्थ तथा ३०० भन्दा माथि अत्यन्तै खतरनाक मानिन्छ । काठमाडौं उपत्यकाको वायु गुणस्तर व्यवस्थापन कार्य योजना, २०७६ अनुसार एक्युआई ३०० नाघेमा त्यसलाई विपद् मानिने व्यवस्था छ ।
विपद् न्यूनीकरणका लागि फोहोर बाल्ने कार्य रोक्ने, सडक सफाइका लागि ब्रुमर तथा भ्याकुमको प्रयोग बढाउने, साथै बालबालिका, ज्येष्ठ नागरिक र बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्ने व्यवस्था कार्य योजनामा उल्लेख छ । राष्ट्रिय वातावरण नीति, २०७६ ले पनि वायु प्रदूषण न्यूनीकरणका लागि राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गर्ने र प्रमुख सहर तथा जोखिमयुक्त क्षेत्रमा गुणस्तर मापन केन्द्र स्थापना गर्ने रणनीति अघि सारेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया