रविविरुद्धको मुद्दा तत्काल फिर्ता नगर्न जिल्ला अदालत कास्कीको आदेश

लोकपथ
133
Shares

काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नहुने आदेश दिएको छ ।

सोमबार न्यायाधीश नितिश राईको इजलासले सरकारी वकिल कार्यालयले मुद्दा संशोधनका लागि पेस गरेको निवेदनमाथि सुनुवाइ गर्दै यस्तो आदेश गरेको हो ।

अदालतले महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएकाले तत्काल मुद्दा फिर्ता गर्न नमिल्ने ठहर गरेको छ । अदालतले सर्वोच्च अदालतबाट हुने आदेश जिल्ला अदालतमा पेस भएपछि मात्र थप निर्णय गरिने स्पष्ट पारेको छ ।

यसअघि रूपन्देही जिल्ला अदालतले पनि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने निर्णय गरेको थियो । महान्यायाधिवक्ताको कार्यालयले भने लामिछानेविरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा कास्की जिल्ला सरकारी वकिल कार्यालय ले अदालतमा मुद्दा फिर्ताको निवेदन दर्ता गराएको थियो ।

महान्यायाधिवक्ता सविता भण्डारीले पुस ३० गते लामिछानेसहित प्रतिवादी रहेका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन् ।लामिछानेविरुद्ध रूपन्देही, कास्की, काठमाडौँ र चितवन जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?