नेपालले १६ युरोपेली मुलुकसँग श्रम सम्झौता गर्न प्रस्ताव पठायो 

लोकपथ
210
Shares

काठमाडौं । नेपाल सरकारले नेपाली श्रमिकहरूका लागि राम्रो आयआर्जन र मानवअधिकारको वातावरण भएका पूर्वी युरोपेली मुलुकहरूसँग द्विपक्षीय श्रम सम्झौता विस्तार गर्ने प्रयास तीव्र पारेको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले क्रोएसिया, माल्टा लगायत १६ वटा युरोपेली मुलुकसँग श्रम सम्झौताका लागि औपचारिक प्रस्ताव पठाएको छ ।

श्रम मन्त्रालयका सहसचिव पिताम्बर घिमिरेका अनुसार राम्रो वातावरण भएका देशहरूमा नेपालीहरूलाई रोजगारीका निम्ति पठाउन श्रम सम्झौताका लागि गृहकार्य भइरहेको बताए । उनकाअनुसार १६ देशसँग प्रस्ताव पठाइएको छ । परराष्ट्र मन्त्रालय र नेपालका सम्बन्धित दूतावासहरूले पनि यी मुलुकहरूसँग छलफल तथा पहल अघि बढाइरहेका छन् । सम्झौताको खाका र अनुरोधसहित प्रस्ताव पठाइएको बताउँदै उनले छिट्टै परिणामुखी सम्झौता हुने बताएका हुन् । 

सहसचिव घिमिरेले  भने , ‘जहाँ मानवअधिकार काम गर्ने वातावरण छ, नेपालीले धेरै राम्रो आय आर्जन गर्न सकिरहेका छन् ती मुलुकसँग नेपालले श्रम सम्झौता गर्न खोजिरहेको छ । ती देशहरूसँग श्रम सम्बन्ध विस्तार गर्नुपर्छ भनेर खास गरी पूर्वी युरोपका मुलुकहरूमा १६ वटा मुलुकसँग दुई पक्षीय श्रम सम्झौता गर्न प्रस्ताव पठाएका छौँ । अहिले रोमनियाबाहेक अरू हुन सकिरहेको छैन । यो प्राथमिकतामा छ । सम्झौताको प्रस्तावसहित अनुरोध गरिरहेका छौँ । परराष्ट्र मन्त्रालय र हाम्रा दूतावासहरूले पहल समेत गरिरहेका छन् । क्रोसिया,माल्टासहितका १६ ओटा युरोपेली मुलुकसँग श्रम सम्झौताका लागि प्रस्ताव पठाइएको छ । जहाँ व्यक्तिगत श्रम स्वीकृति लिएर धेरै नेपालीहरू गएका पनि छन् । ती देशसँग श्रम सम्झौताका लागि प्रस्ताव पठाइएको छ ।’

अहिले क्रोएसिया, माल्टासहितका देशहरूमा व्यक्तिगत श्रम स्वीकृति लिएर धेरै नेपालीहरू गएका छन् । अब संस्थागत रूपमा सुरक्षित र मर्यादित रोजगारीका लागि सम्झौता सरकारले गर्न खोजिरहेको छ ।

पछिल्ला वर्षहरूमा युरोपेली मुलुकहरू (विशेष गरी रोमानिया, क्रोएसिया, पोल्याण्ड, माल्टा, साइप्रस, पोर्चुगल  नेपाली वैदेशिक रोजगारीका आकर्षक गन्तव्य बन्दै गएका छन् ।  यी देशहरूमा नेपाली कामदारहरूको संख्या बढ्दो छ, तर श्रम सम्झौता नहुँदा ठगी, शोषण र असुरक्षाको जोखिम रहँदै आएको छ । रोमानियासँग भने केही वर्षअघि नै श्रम सम्झौता भइसकेको छ, जसलाई अन्य मुलुकहरूका लागि उदाहरण मानिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?