काठमाडौं । मुलपानी र कीर्तिपुरको झल्को दिने वातावरणबीच मुम्बईमा उर्लिएका हजारौँ नेपाली समर्थकहरूमाझ पारस खड्काले नेपाली टोलीको हालको प्रदर्शन, भावनात्मक उतारचढाव र भावी दिशाबारे स्पष्ट धारणा राखेका छन् ।
नेपाल क्रिकेट संघ का सचिव तथा पूर्व कप्तान खड्काले इङ्ल्याण्डविरुद्धको उत्कृष्ट प्रदर्शन र त्यसपछि इटालीसँगको अप्रत्याशित हारले नेपाली क्रिकेटमा नतिजाको एकरुपता र भावनात्मक पक्ष कति गहिरो छ भन्ने देखाएको बताएका छन् । विश्वकप मञ्चमा इङ्ल्याण्डजस्तो दाबेदार टोलीसँग मात्र ४ रनले हार्दा पाएको प्रशंसा र केही दिनमै इटालीसँग पराजित हुँदा देखिएको आलोचनाले टोलीमा ठुलो उतारचढाव आएको उनको विश्लेषण छ ।
‘नेपाल क्रिकेटको समर्थक हुन सजिलो छैन,’ खड्काले भने, ‘म आफैँ पूर्व कप्तान हुँ । अहिले समर्थक भएर हेर्दा म्याच खेल्नुभन्दा हेर्न धेरै गाह्रो हुने रहेछ । हामी भावनात्मक रूपमा धेरै ड्रिभन छौँ ।’
सन् १९९६ देखि २०२४ सम्मको करिब ३० वर्षे अन्तर्राष्ट्रिय यात्रालाई स्मरण गर्दै उनले नेपालमा अझै बलियो र दीर्घकालीन क्रिकेट संरचना नबनेको स्वीकार गरे । ‘खेलाडी उत्पादन गर्ने स्थायी स्ट्रक्चर अझै छैन । विभिन्न पुस्ताका खेलाडी र प्रशिक्षकहरूको मेहनतले नै हामी यहाँसम्म आइपुगेका हौँ,’ उनले स्पष्ट पारे ।
इटालीसँगको हारबारे खड्काले इटाली युरोपबाट क्वालिफाइड भएर आएको प्रतिस्पर्धी टोली भएको उल्लेख गरे । उनका अनुसार अनुभवी प्रशिक्षकहरूको नेतृत्वमा रहेको उक्त टोलीलाई हल्का रूपमा लिनु महँगो साबित भयो । ‘पहिलो खेलको पोजिटिभ ब्यागेज धेरै बोकेजस्तो लाग्छ । २० ओभर ब्याटिङ र साढे १२ ओभर बलिङ हाम्रो अहिलेसम्मकै खराब क्रिकेटमध्ये एक थियो,’ उनले आत्मालोचनासहित भने ।
गणितीय रूपमा अझै पनि नेपाल अर्को चरणमा पुग्ने सम्भावना जीवित रहेको बताउँदै खड्काले बाँकी खेलहरूमा पूर्ण ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए । वेस्ट इण्डिजविरुद्धको खेललाई पहिलो पटक टेस्ट राष्ट्रलाई हराउने ऐतिहासिक अवसरका रूपमा उनले चित्रण गरे। ‘वेस्ट इन्डिज र स्कटल्यान्डसँगको खेल सजिलो छैन, तर हाम्रा केटाहरू फाइट ब्याक गर्नेछन् भन्ने विश्वास छ, ‘उनले भने।
अन्त्यमा खड्काले समर्थकहरूलाई धैर्यता अपनाउन र टोलीको मनोबल बढाउन आग्रह गरे। ‘गाली पनि मायाबाटै आउँछ,‘भन्दै उनले खेलाडीहरूलाई मानसिक रूपमा अझ बलियो बनाउनेतर्फ ध्यान दिनुपर्ने बताए । ओडीआई स्ट्याटस जोगाउन र नेपाली क्रिकेटलाई दीर्घकालीन रूपमा मजबुत बनाउन संघले आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया