राष्ट्र कठिन मोडमा छ, इतिहासबाट प्रेरणा लिएर अघि बढ्नुपर्छ : प्रचण्ड

लोकपथ
42
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ३१औँ जनयुद्ध दिवसका अवसरमा शुभकामना दिँदै जनयुद्धका स्मृति ताजा भएको बताएका छन् ।

जनयुद्ध दिवसको अवसरमा रुकुम पूर्व पुगेर मन्तव्य दिँदै संयोजक प्रचण्डले यस वर्षको जनयुद्ध दिवस आफूका लागि विशेष रहेको उल्लेख गरे । रुकुम पूर्वमा जनयुद्ध मनाउँदा तत्कालीन संघर्षका सबै स्मरण ताजा भएको र त्यतिबेला यहाँका जनताबाट पाएको उत्प्रेरणाले आफूहरूलाई ऊर्जा दिएको उनले बताए ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा गरिब, महिला तथा आदिवासी जनजातिको योगदान निर्णायक रहेको उल्लेख गर्दै ती वर्ग समुदायले रगत नबगाएको भए आजको समावेशी र समानुपातिक गणतन्त्र सम्भव नहुने धारणा राखे । रुकुम पूर्व आइपुग्दा आफू भावुक भएको र जनयुद्धकै जस्तो उत्प्रेरणा र नयाँ ऊर्जासहित अब अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

संयोजक प्रचण्डले मुलुकको वर्तमान परिस्थिति चुनौतीपूर्ण रहेको उल्लेख गर्दै देश कठिन मोडबाट अगाडि बढिरहेको बताए । उनले २०८४ सालमा गर्ने भनिएको निर्वाचन २०८२ मै गर्नुपर्ने अवस्था सिर्जना भएको दाबी पनि गरे ।

‘यस्तो सङ्कटको घडीमा इतिहासका ती प्रेरणाबाट शिक्षा लिँदै फेरि राष्ट्र र राष्ट्रियताको पक्षमा अघि बढ्नुपर्छ,उनले भने, ‘समाजवादको नयाँ यात्रा सुरु गर्ने सङ्कल्पका रूपमा मैले यो अवसरलाई लिएको छु ।’

उनले जनयुद्धकालीन सङ्कल्प र दृढतासहित अघि बढ्दै नेपाली जनताको आत्मनिर्णयको अधिकारको रक्षा गर्ने अभियान सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?