काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी आन्दोलन र त्यसपछिको विध्वंसका कारण देश अप्ठ्यारो अवस्थामा पुगेको बताएका छन् ।
‘जनयुद्ध दिवस’ को अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै उनले मुलुक अहिले गम्भीर संकटको चरणमा रहेको उल्लेख गरे ।
उनले सन्देशमा भने, ‘जेनजी आन्दोलन र त्यसपछिको विध्वंस जे भयो, त्यसले राष्ट्र निकै अप्ठ्यारोमा परेको छ । त्यस्तो परिस्थितिमा हामी यो जनयुद्ध दिवस मनाउँदै छौँ ।’
दाहालले जनयुद्ध दिवसका अवसरमा आफू रुकुमपूर्व पुगेको उल्लेख गर्दै यसलाई गर्व र जिम्मेवारी दुवैको विषय भएको बताए ।
‘एकातिर गर्वको कुरा र अर्कोतिर ठुलो जिम्मेवारीको कुरा हो कि म यो जनयुद्ध दिवसमा रुकुमपूर्व आएर मनाउँदै छु । रुकुमपूर्वको प्रत्यक्षतर्फको उम्मेदवारको हैसियतले पनि आज यो दिवस मनाइरहेको छु, ‘उनले भने ।
उनले सहिदका सपना पूरा गर्ने दायित्व अझै बाँकी रहेको उल्लेख गर्दै रुकुम र रोल्पा जस्ता केन्द्रीय आधार इलाकाले जनयुद्धकालमा खेलेको भूमिकालाई फेरि एकपटक देशभर स्थापित गर्नुपर्ने आवश्यकता औँल्याए ।
दाहालले नयाँ समाजवादी अभियान अगाडि बढाउने संकल्पका साथ रुकुम आएको बताउँदै जनताको भरोसा र बलिदानलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया