विश्व रेडियो दिवस : पहुँच, विश्वास र लोकतान्त्रिक संवादको सबल आधार

लोकपथ
35
Shares

 काठमाडौं । आज विश्व रेडियो दिवस विविध कार्यक्रमका साथ विश्वभर मनाइँदै छ । रेडियो, सञ्चार विज्ञ तथा प्रसारकहरूको सहभागितामा विभिन्न देशमा विशेष कार्यक्रम आयोजना गरिएका छन् ।

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को अगुवाइमा सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउन थालिएको हो । सन् १९४६ मा संयुक्त राष्ट्रसंघको रेडियो सेवा स्थापना भएको दिनको स्मरणमा हरेक वर्ष फेब्रुअरी १३ मा यो दिवस मनाइन्छ ।

युनेस्कोले पाँचै महादेशमा ‘डिजिटल’ प्रसारणमार्फत शैक्षिक सामग्री श्रोतासमक्ष प्रस्तुत गरिने जनाएको छ । सञ्चार माध्यमका रूपमा रेडियोको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने, निर्णयकर्ताहरूलाई सूचना पहुँच सुनिश्चित गर्ने तथा विश्वभरका प्रसारकहरूबीच अन्तर्राष्ट्रिय सहकार्य सुदृढ बनाउने यस दिवसको मुख्य उद्देश्य रहेको युनेस्कोले स्पष्ट पारेको छ ।

लोकतान्त्रिक संवादका लागि रेडियो महत्त्वपूर्ण मञ्चका रूपमा स्थापित रहँदै आएको छ । विश्वस्तरमा अझै पनि सबैभन्दा धेरै सुनिने सञ्चार माध्यम रेडियो नै रहेको युनेस्कोको भनाइ छ । यसको व्यापक पहुँचले समाजमा विविधताको अनुभूति गराउन, सबै आवाजलाई बोल्ने र सुन्ने अवसर प्रदान गर्ने सार्वजनिक चौतारीको भूमिका रेडियोले निर्वाह गर्दै आएको छ ।

कम लागतमा सञ्चालन गर्न सकिने माध्यम भएकाले रेडियो दुर्गम क्षेत्र तथा जोखिममा रहेका समुदायसम्म पुग्न उपयुक्त मानिन्छ । आपतकालीन सूचना प्रवाह र विपद् उद्धारका सन्दर्भमा समेत रेडियोको भूमिका महत्त्वपूर्ण रहने बताइएको छ ।

त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका उपप्राध्यापक श्रीराम पौडेलले समुदायलाई एकताबद्ध गर्दै सकारात्मक परिवर्तनका लागि संवाद प्रवर्द्धन गर्न रेडियो अद्वितीय रूपमा सक्षम रहेको बताए । श्रोताको आवश्यकता अनुसार सामग्री प्रस्तुत गर्दा साझा चुनौती समाधानका लागि विविध दृष्टिकोण सुनिश्चित हुने उनको भनाइ छ ।

यसै अवसरमा जारी सन्देशमा युनेस्कोका महानिर्देशक खालेद एल–एनानीले कृत्रिम बौद्धिकता ९एआई० को प्रयोग जनहितका लागि उपयोगी हुने गरी हुनुपर्नेमा जोड दिए । रेडियोले इमानदारीका साथ सूचना प्रवाह गर्न र सहानुभूतिका समुदायलाई जोड्न अधिकतम भूमिका खेल्नुपर्ने उनले उल्लेख गरे ।

विश्व रेडियो दिवसका अवसरमा विभिन्न रेडियो स्टेसन तथा प्रसारकहरूले विशेष कार्यक्रम, विचार मञ्च, प्रतियोगिता, कथा सङ्ग्रह र जनचेतनामूलक गतिविधि सञ्चालन गर्ने युनेस्कोले जनाएको छ । केही अफ्रिकी राष्ट्रमा सांस्कृतिक कार्यक्रम, अन्तरक्रिया तथा चलचित्र प्रदर्शनसँगै रेडियोको भविष्य र एआईको प्रभावबारे छलफल गरिने पनि जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?