काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाका अनुसार प्रत्यक्षतर्फको निर्वाचनका लागि दुई करोड ३ लाख २३ हजार मतपत्र छाप्नुपर्नेमा अहिलेसम्म १ करोड ५७ लाख ७८ हजार मतपत्र छापिसकिएको छ । त्यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्र पनि छपाइ र रुजु (जाँच) गरी ढुवानीको तयारी अवस्थामा राखिएको छ ।
कोइरालाका अनुसार छापिएका मतपत्रमध्ये ५८ जिल्लाको प्याकिङ कार्य पूरा भइसकेको छ र आजदेखि कर्णाली प्रदेशमा मतपत्र ढुवानी कार्य सुरु गरिएको छ। कर्णालीसँगै सुदूरपश्चिम, कोसी लगायतका प्रदेशमा पनि चरणबद्ध रूपमा मतपत्र पठाउने योजना रहेको छ । निर्वाचन आयोगले आगामी फागुन १२ गतेभित्र १६५ वटै निर्वाचन क्षेत्रमा मतपत्र पुर्याइसक्ने लक्ष्य राखेको छ ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानो ठिमीले दैनिक १५ लाख मतपत्र छपाइ गर्दै आएको छ। बिहीबार सम्म कर्णाली प्रदेशका सल्यान, रुकुम पश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेत गरी १० जिल्लामा मतपत्र ढुवानी कार्य सम्पन्न भइसकेको छ ।
कोइरालाले भने, ‘अहिले सबै तयारी पूरा छ र निर्वाचनसम्म मतपत्र ढुवानी कार्य जारी रहनेछ। सबै निर्वाचन क्षेत्रका मतपत्र समयमै पुग्ने सुनिश्चितता छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया