संकटको समयमा सबै एकजुट हुन प्रचण्डको आह्वान

लोकपथ
42
Shares

बागलुङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र संकटको समयमा विभिन्न कम्युनिष्ट पार्टीबिच सहकार्य हुँदै आएको बताएका छन् । 

आज गलकोटमा आयोजित नेकपा र राष्ट्रिय जनमोर्चाको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले जनमोर्चासँगको चुनावी तालमेलले देशभर एकताको सन्देश दिएको बताएका हुन् ।

प्रचण्डले भने, ‘विभिन्न कम्युनिष्ट पार्टीमा राजनीतिक मतभेद भए पनि राष्ट्रलाई अप्ठेरो पर्दा विगतमा सहकार्य गर्दै आएका छौँ । यस पटक पनि देशलाई संकटबाट टार्न कार्यगत एकता र गठबन्धन हुनेछ । गत भदौ २३–२४ मा भएको आन्दोलनपछिको अवस्थालाई हेरेर हामीले पार्टी एकता र सहकार्य अगाडि बढाएका छौँ ।’

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले देश गम्भीर संकटमा परेको बताएर आगामी फागुन २१ मा हुने निर्वाचनलाई सामान्य रूपमा नलिन आग्रह गरे । उनले देशको हितमा काम गर्नेलाई पहिचान गरी मतदान गर्न आम जनतालाई अनुरोध गरे ।

कार्यक्रममा जानकारी दिइएको अनुसार बागलुङका दुई निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं १ मा नेकपाले जनमोर्चाका कृष्ण अधिकारीलाई समर्थन गर्ने सहमति भएको छ भने क्षेत्र नं २ मा जनमोर्चाले नेकपाका ज्ञामनाथ गैरेलाई सघाउने सहमति गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?