रोड सेफ्टी काउन्सिल नबन्दा सडक सुरक्षा जोखिममा

लोकपथ
21
Shares

 काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालमा सडक सुरक्षा गम्भीर चुनौतीका रूपमा उभिँदै गएको बताएका छन् । उपत्यकाका ट्राफिक प्रहरी कार्यालयले बिहीबार आयोजना गरेको सडक सुरक्षा कार्यशालामा बोल्दै उनले सडक यातायात विकासको आधार भए पनि त्यससँग जोडिएको सुरक्षा विषय अत्यन्त संवेदनशील बन्दै गएको बताए ।

सचिव शर्माका अनुसार विशेषगरी एशियाली तथा विकासोन्मुख मुलुकहरूमा ट्राफिक व्यवस्थापन र सडक सुरक्षाको समस्या झन् गम्भीर छ । ‘यातायातको माध्यमबाट जीवन सहज बनाउने र विकासको गति अघि बढाउने पूर्वशर्त सडक यातायात भए पनि सडक सुरक्षाको विषय दिनप्रतिदिन संवेदनशील बन्दै गएको छ,’ उनले भने ।

उनले ट्राफिक सुरक्षा कुनै एक निकायको प्रयासले मात्र सम्भव नहुने स्पष्ट पार्दै रोड सेफ्टी काउन्सिल गठनको आवश्यकता औँल्याए । प्रधानमन्त्री वा मन्त्रीको नेतृत्वमा काउन्सिल गठन गर्न अर्थ मन्त्रालयलाई पटक–पटक आग्रह गरिए पनि अहिलेसम्म सफल हुन नसकेको उनले बताए । सुरक्षा निकाय, निजी क्षेत्र, यातायात व्यवसायी लगायत सबै सरोकारवालाले रोड सेफ्टी काउन्सिल गठनका लागि वकालत गर्नुपर्नेमा उनले जोड दिए ।

सचिव शर्माले मन्त्रालयले नीतिगत सुधारका प्रयास गरिरहेको जानकारी दिँदै ट्रान्सपोर्ट नीतिको मस्यौदा, रोड सेफ्टी एक्ट, रोड सेफ्टी रेगुलेसन तथा रोड सेफ्टी एक्शन प्लान तयार भइसकेको बताए । यद्यपि कार्यान्वयन चरणमा समस्या रहेको उनले स्वीकार गरे ।

कार्यशालामा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौलाले तीन तहका सरकारबीचको कानुनी असमानताले सार्वजनिक यातायात क्षेत्र प्रभावित भएको बताए । संघीय सरकारको कानुनभन्दा फरक–फरक कानुन तल्लो तहका सरकारले बनाउँदा सार्वजनिक यातायात क्षेत्र ठूलो चपेटामा परेको र यसले दुर्घटना बढाउन सहयोग गरेको उनको आरोप थियो ।

सिटौलाका अनुसार सडक निर्माणमा समेत संघ, प्रदेश र स्थानीय तहबिच समन्वयको अभाव देखिएको छ । काठमाडौं उपत्यकामा सवारी चाप तीव्र रूपमा बढ्दै गएको र दुई पाङ्ग्रे सवारीको संख्या सबैभन्दा धेरै वृद्धि भएको उनले बताए । सवारी दर्ता, इजाजत र रुट परमिट दिने निकायहरूले जथाभावी अनुमति दिँदा समस्या झन् जटिल बनेको उनको भनाइ छ । पहाडी जिल्लामा समेत तीन पाङ्ग्रे टेम्पो सञ्चालनको अनुमति दिइनु गम्भीर समीक्षाको विषय भएको उनले बताए ।

यस्तै, काठमाडौं उपत्यकाका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले तीव्र शहरीकरण, जनघनत्व वृद्धि र सवारी साधनको निरन्तर विस्तारले यातायात व्यवस्थापन प्रणालीमा असाधारण दबाब सिर्जना गरेको बताए । सडक पूर्वाधार विस्तार, सार्वजनिक यातायात सुदृढीकरण तथा प्रविधिमैत्री ट्राफिक व्यवस्थापन सवारी वृद्धिदरसँग समानान्तर हुन नसक्दा ट्राफिक जाम, सवारी दुर्घटना, प्रदूषण, अव्यवस्थित पार्किङ र अनुशासनहीन सवारी सञ्चालन जस्ता समस्या बढ्दै गएको उनले बताए ।

उनका अनुसार ट्राफिक व्यवस्थापन र सडक सुरक्षालाई प्रभावकारी बनाउन कार्यालयले विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

कार्यशालामा सहभागी वक्ताहरूले सडक सुरक्षालाई प्रभावकारी बनाउन एकीकृत नीति, कडा कार्यान्वयन र सबै सरोकारवालाबीचको समन्वय अपरिहार्य रहेकोमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?