काठमाडौं । केही समय अगाडि झापाको भद्रपुर विमानस्थलमा भएको बुद्ध एयरको एटीआर ७२ दुर्घटनाको वास्तविक कारण र क्षति अझै बाहिर आइसकेको छैन । यद्यपि प्रारम्भिक अनुसन्धानले जहाँबाट ल्यान्ड गर्न सुरु गर्नुपर्ने थियो, त्यस स्थानभन्दा धेरै पर पुगेर ल्यान्ड गर्दा रनवे नपुगेर चिप्लिएको अनुमान गरिएको छ ।
बुद्ध एयर नेपालमा उडान सङ्ख्या र गन्तव्यका हिसाबले प्रतिशतमा हेर्ने हो भने निकै कम दुर्घटना भएको एयरलाइन्स हो । यद्यपि हवाई दुर्घटनाले झस्काइरहने नेपालीलाई त्यो दुर्घटनाले पनि झस्काएको भने छ । यद्यपि समयमै भएको उद्धार र आगलागी हुन नदिन अपनाइएको सावधानीले कुनै मानवीय क्षति भने भोग्नु परेन ।
तर बुद्ध एयरको उक्त दुर्घटनाको कुरा त पछि छानबिन प्रतिवेदन आएपछि थप गरौँला, यति बेला बुद्ध एयरको इतिहास, यसको आर्थिक प्रभाव र देशको अर्थतन्त्र तथा समाजमा पारेको प्रभावबारे आज कुरा गर्न लागिएको छ । किनभने बुद्ध एयरलाइन्सले नेपाली अर्थतन्त्र र सामाजिक जीवनमा गाडेको जरो र यसले पाल्दै आएको करिब १,६०० परिवारको चुल्होको कथा त्यो भन्दा ठुलो छ ।
एउटा विचारबाट उडेको उडान : इतिहास र विकासक्रम
नेपालको निजी क्षेत्रको हवाई इतिहासमा बुद्ध एयरको स्थापना एउटा ऐतिहासिक कदम थियो । सन् १९९६ अप्रिल २३ मा एक सेवा निवृत्त सर्वोच्च अदालतका न्यायाधीश र पूर्व मन्त्री सुरेन्द्र बहादुर बस्नेत र उनका जेठा छोरा वीरेन्द्र बहादुर बस्नेतले मिलेर यसलाई प्राइभेट लिमिटेड कम्पनीको रूपमा दर्ता गरेका । यसको नाम संस्कृत शब्द ’बुद्ध’बाट लिइएको हो, जुन शब्द गौतम बुद्धको लागि प्रयोग हुन्छ ।
स्थापनाको एक वर्षपछि पहिलो उडान
सन् १९९७ अक्टोबर ११ मा बीचक्राफ्ट १९००डी विमानबाट बुद्ध एयरले पहिलो उडान भरेको थियो । माउन्ट एभरेस्ट हेर्ने दर्शनीय उडानबाट यसले आफ्नो सञ्चालन सुरु गरेको थियो । पछि यसलाई माउन्टेन फ्लाइटका रूपमा विकास गरियो । त्यस बेला शायद कसैले सोचेको पनि थिएन, एउटा सानो विमानबाट सुरु भएको बुद्ध एयर यति बेला देशकै सबैभन्दा ठुलो आन्तरिक वायुसेवा कम्पनी बन्छ र कुल बजारको ६० प्रतिशत हिस्सा ओगट्छ भनेर । तर आजको सत्य यही नै हो ।

सुरुमा एउटा बीचक्राफ्ट विमानबाट सुरु भएको बुद्ध एयरले आफ्नो सेवा विस्तार गर्दै गयो । सन् २००८ मा अन्तर्राष्ट्रिय वित्त संस्था (आइएफसी) बाट ऋण लिएर कम्पनीले दुई वटा एटीआर ४२ विमानहरू खरिद गर्यो, जुन बुद्ध एयरका लागि ठुलो छलाङ थियो । बुद्ध एयरले १० वर्षका लागि लिएको ऋण केवल ७ वर्षमै तिरेर समेत आफ्नो कुशलता प्रदर्शन गर्यो ।
सन् २०१० जुन मा भने बुद्धले ७२ सिट भएको पहिलो एटीआर ७२ विमान ल्यायो, जसले अन्तर्राष्ट्रिय उडानहरूको मार्ग समेत सहज बनायो । उसले त्यति बेलै भुटानको पारो विमानस्थलमा उडान समेत भर्न थालेको थियो ।
पहिलो दशक : सात वटा बीचक्राफ्ट १९००डी सम्म विस्तार
दोस्रो दशक: एटीआर विमानहरूमा आधारित आधुनिक फ्लिटमा रूपान्तरण र अन्तर्राष्ट्रिय उडानको सुरुवात ।
हालको अवस्था : बुद्ध एयरसँग हाल १८ वटा विमान छन्, जसमा २ वटा एटीआर ४२-३०० र १६ वटा एटीआर ७२-५०० विमान रहेका छन् । गत वर्षहरूमा उनीहरूले ऐतिहासिक बीचक्राफ्ट १९००डी लाई भव्य बिदाइ समेत गरिसकेका छन् ।
अन्तर्राष्ट्रिय सेवा विस्तार
बुद्ध एयरले सन् २०१० को अगस्ट महिनामा भुटानको पारो विमानस्थलमा चार्टर उडान सुरु गरेर अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो उपस्थिति देखाएको थियो । त्यसैको निरन्तरताको रूपमा हाल बुद्ध एयरले हाल भारतको कोलकाता र वाराणसीमा नियमित उडान गरिरहेको छ । कोभिड १९ पछि बन्द भएको कोलकाताको उडानलाई गत वर्षको नोभेम्बर अर्थात् गत कात्तिक महिनादेखि पुनः सुचारु गर्दै औसतमा ३० हजार रुपैयाँमा दुईतर्फी टिकट उपलब्ध गराइरहेको छ, जसले कोलकातामा उपचार, घुमघाम र व्यापार गर्न जानेहरूलाई सहजता दिएको छ ।
बुद्ध एयरले अहिले नेपालमा कुल १४ वटा गन्तव्य (माउन्टेन फ्लाइटसमेत) उडान भरिरहेको छ । बुद्ध एयरले अहिले औसतमा दैनिक ७ हजार २ सय जना, मासिक २ लाख २० हजार जना र वार्षिक २६ लाख ४० हजार जनालाई सेवा दिइरहेको छ ।
जहाँबाट बलिरहेछ १,६०० घर परिवारको चुलो
बुद्ध एयरको यात्रा केवल उडानको होइन, यो एउटा ठुलो सामाजिक–आर्थिक प्रतिबद्धताको पनि हो । हाल संस्थामा करिब १ हजार ६०० कर्मचारी रहेका छन् । औसत ६ जना सदस्य भएको परिवारको आधारमा हेर्ने हो भने, यस एयरलाइन्सले सिधै ९ हजार ६०० भन्दा बढी नेपालीको दैनिक जीवनयापनमा योगदान दिइरहेको छ । यसले मासिक रूपमा १६ करोड रुपैयाँभन्दा बढी रकम तलब र भत्ताको रूपमा कर्मचारीहरूमा वितरण गर्ने गरेको छ ।
१ हजार ६ सय कर्मचारी रहेको बुद्ध एयरमा उडान कर्मचारी मात्रै ३१४ जना रहेका छन् जहाँ १२९ जना पाइलट, १३२ जना उडान परिचारिका, २५६ जना प्राविधिक, सामान्य प्रशासनतर्फ २०८ लगायतका कर्मचारी छन् ।
कृषिमा उत्पादनमा सहकार्य र योगदान
नेपालको अर्थतन्त्रको मेरुदण्ड रहेको कृषि क्षेत्रलाई बलियो बनाउन बुद्ध एयरले सन् २००० देखि नै प्रयास सुरु गरी काम गरिरहेको छ । मोरङ जिल्लामा सुरु भएको कृषिको पाइलट प्रोजेक्ट यति बेला बिस्तार भएर झापा, मोरङ, सुनसरी र सप्तरी जिल्लाका ३१ वटा कृषि सहकारी संस्थामा फैलिएको छ । यस कार्यक्रमअन्तर्गत ‘स्मलहोल्डर एग्रिबिजनेस सपोर्ट’ (एसएबिएस) को स्थापना गरी किसानहरूलाई केवल १२ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराइरहेको छ, जुन स्थानीय साहूकारहरूले लगाउने ३६ प्रतिशत वा सोभन्दा बढीको ब्याजदरमा निकै न्यून हो । यसले हजारौँ किसान परिवारको आर्थिक सशक्तीकरणमा ठुलो योगदान दिएको छ ।

साथै बुद्ध एयरले आफ्ना सबै कर्मचारीको कल्याणको लागि समेत योजना बनाइरहेको छ कम्पनीले आफ्नो कृषि बिस्तार कार्यक्रमलाई अगाडि बढाउँदै ग्रामीण विकास बैंक स्थापना गर्ने योजना अगाडि सारेको छ, जसको शेयर कम्पनीका कर्मचारीहरूलाई प्रदान गरिनेछ । यसले कर्मचारीहरूलाई दिगो आयको स्रोत सिर्जना गर्न मद्दत पुग्ने अपेक्षा कम्पनीले गरेको छ ।
नेपाली आकाशमा विश्वास : सुरक्षा र यात्रु सेवा
बुद्ध एयरको ब्रान्ड मूल्यको केन्द्रमा रहेको छ ‘विश्वास’ । सुरुवातदेखि नै गुणस्तरीय सेवा र उडान सुरक्षाप्रति दिएको ध्यानले यसलाई यात्रुहरूको विश्वास र आदर हासिल गराउन सफल भएको छ । यो विश्वासले विभिन्न सामाजिक वर्गलाई पनि समेटेको छ । एयरलाइन्सले उमेर समूह अनुसार वृद्ध, अपांगता भएका व्यक्ति र बालबालिकालाई विशेष छुटको समेत व्यवस्था गरेको छ ।
जहाँ, वृद्ध वृद्धाका लागि ५० देखि ८० प्रतिशतसम्मको छुट दिइरहेको छ । जसमा ७० वर्ष माथिका लागि सामान्य भाडामा ५० प्रतिशत, ७५ वर्ष माथिका लागि ७० प्रतिशत र ८० वर्ष माथिका लागि ८० प्रतिशत छुट दिइरहेको छ । त्यसै गरी अपांगता भएका यात्रुका लागि ५० प्रतिशत छुट दिएको छ भने २ देखि १२ वर्षसम्मका बालबालिकाका लागि ३३ छुट दिइरहेको छ । २ वर्षसम्मका शिशुलाई भने ९० प्रतिशतको छुट दिई १० प्रतिशत मात्रै भाडा लिने गरेको छ ।
देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान
बुद्ध एयरले आफ्नो व्यवसाय विस्तारसँगै राज्य कोषमा पनि ठुलो योगदान दिँदै आएको छ । गत चार वर्षको कर तिरेको तथ्यांकले यसले देशको अर्थतन्त्रमा खेलिरहेको ठुलो भूमिका प्रस्ट पार्छ ।
बुद्ध एयरले सन् २०२१।२२ मा प्रत्यक्षतर्फ ५ करोड २० लाख ६१ हजार र अप्रत्यक्षतर्फ ६६ करोड ९५ लाख ६६ हजार २४७ गरी कुल ७२ करोड २१ लाख ७६ हजार २४७ रुपैयाँ कर तिरेको थियो । त्यसै गरी सन् २०२२।२३ मा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल ६८ करोड ४२ लाख ८४ हजार ९४८ रुपैयाँ कर तिरेको छ । त्यसै गरी सन् २०२३।२४ मा दुवै तर्फ गरी कुल ४५ करोड ६८ लाख ३८ हजार ७१७ रुपैयाँ र सन् २०२४।२५ मा १ अर्ब ७ करोड १२ हजार ३६५ रुपैयाँ कर तिरेको छ ।
२ करोड ७९ लाख यात्रुलाई सेवा
आफ्नो स्थापना कालदेखि हालसम्मको अवधिमा बुद्ध एयरले कुल २ करोड ७९ लाख ६९ हजार २ सय ५० यात्रुलाई सेवा दिइसकेको छ । यसमा २१ लाख ४० हजार ३ सय ५५ विदेशी नागरिक, १८ लाख ५१ हजार ७ सय ६६ भारतीय र २ करोड ३९ लाख ७७ हजार १ सय २९ नेपाली यात्रुलाई सेवा दिएको बुद्ध एयरले जनाएको छ । यसमा सन् २०२५ को सबै तथ्यांक भने समावेश भएको छैन । विगत एक वर्षमा मात्रै यसले लगभग ४० लाख यात्रुलाई सेवा दिएको छ, जसको दैनिक औसत १० हजार ९०० यात्रु हुन्छ ।
आन्तरिक उडानमा ६० प्रतिशतको बजार हिस्सा
बुद्ध एयरको व्यावसायिक उपलब्धि पनि उल्लेखनीय छ । सन् २०२४।२५ को आँकडा अनुसार बुद्ध एयरले ६० प्रतिशत डोमेस्टिक उडानको बजार कब्जा गरेको देखिन्छ । साथै, नेपालमा पहिलो पटक क्लोज-डोर ह्यांगर सुविधा निर्माण गरी नेपालको आन्तरिक वायुसेवामा इतिहास रचेको बुद्ध एयरले अहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा एयरबस ए३१९ आकारसम्मको विमान राख्न सक्ने ह्यांगर निर्माण गरिरहेको छ । यसले देशभित्रै विमानको ठुलो मर्मत सम्भार गर्न सकिने क्षमतासमेत विकास गरिरहेको छ ।
सामाजिक उत्तरदायित्व र राष्ट्र निर्माणमा समेत अगाडि
बुद्ध एयरले आफ्नो व्यावसायिक सफलतालाई समाजमा नै फर्काउने प्रतिबद्धता पनि जनाएको छ र त्यसको कार्यान्वयन समेत गरिरहेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व (सिएसआर) लाई कम्पनीको दर्शनका रूपमा केन्द्रमा राखेर काम गरिरहेको छ ।

यसमा प्राकृतिक विपत्को समयमा आफ्नो दरिलो उपस्थिति देखाएको छ भने कृषि, पिउने पानी, शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत योगदान पुराइरहेको छ ।
बुद्ध एयरले विक्रम संवत् २०७२ सालको गोरखा भूकम्पमा राहत कोषमा ५० लाख रुपैयाँ सहयोग गर्दै सिन्धुपाल्चोक, गोरखाको बारपाक जस्ता सुदूर गाउँहरूमा राहत सामग्री पुराएर मद्दत गरेको थियो । त्यसै गरी सन् २०२३ मा जाजरकोट भूकम्पका समयमा समेत कम्पनीले सरकारी राहत कोषमा १ करोड रुपैयाँ सहयोग गरेको थियो भने उद्धार कार्यका लागि १ हजार ५४८ किलोग्राम राहत सामाग्री निशुल्करुपमा उडाएर नजिकको गन्तव्यमा पुराइदिएको थियो ।
त्यसबाहेक सफा पिउने पानी, शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा पनि बुद्ध एयरले ‘एक्सन फर नेपाल’ जस्ता स्थानीय गैर-सरकारी संस्थासँग सहकार्य गरी परियोजनामा सहयोग गरिरहेको छ ।
चुनौतीका बीच सफलताको उडानमा बुद्ध एयर
हालसालै भद्रपुरमा भएको विमान दुर्घटनाको बुद्ध एयरलाई केही चुनौती दिएकै छ, भलै त्यहाँ कुनै पनि मानवीय क्षति भने हुन पाएन । तर, एउटा घटनाले यस संस्थाको २८ वर्षे इतिहास, समाजमा राखेको गहिरो पहुँच र देशको अर्थतन्त्रमा गरेको योगदानलाई नजरअन्दाज गर्न भने मिल्दैन । एउटा सानो विमानबाट सुरु भएर नेपालको आकाशमा ‘विश्वास’ को पर्याय बनेको बुद्ध एयर आज १,६०० परिवारको चुल्हो बाल्ने, हजारौँ किसानलाई ऋण उपलब्ध गराउने, अरबौँ रुपैयाँको कर राज्यलाई तिर्ने र देशको पर्यटन र आर्थिक गतिविधिलाई गतिशील बनाउने ठुलो शक्ति बनेको छ । यो केवल एउटा विमान सेवा कम्पनी मात्रै होइन, यो नेपाली उद्यमशीलता, सामाजिक दायित्वबोध र राष्ट्र निर्माणको प्रतिबद्धताको प्रतीक समेत हो ।
यो पनि…
कोभिडकालमा बुद्ध एयर : पहिले कर्मचारीको चुलो बल्यो, त्यसपछि अरु चल्यो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया