काठमाडौं । उच्चपदस्थ व्यक्तिहरूलाई ज्यान मार्ने धम्की दिएको अभियोगमा फिलिपिन्समा पक्राउ परेका ३३ वर्षीय प्रकाश पाठकलाई नेपाल ल्याइएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौं र इन्टरपोलको संयुक्त टोलीले फिलिपिन्सबाट पक्राउ गरी उनलाई नेपाल ल्याएको हो । पाठकलाई लिन नेपाल प्रहरीको टोली फिलिपिन्स गएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले आज बुधबार उनलाई नेपाल ल्याइएको जानकारी दिए ।
पाठकमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालका प्रमुख प्रेम राईसहित १० जना उच्चपदस्थ व्यक्तिहरूलाई अल्टिमेटम दिएर ज्यान मार्ने धम्की दिएको अभियोग छ । धम्की दिएपछि अनुसन्धानको क्रममा उनी फिलिपिन्समा रहेको पत्ता लागेको थियो ।
उनको बारेमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी र इन्टरपोलमार्फत डिसेम्बर १२ मा डिफ्युजन नोटिस जारी भएको थियो । डिसेम्बर ३१ मा मालोलस सिटीमा फिलिपिन्सको ब्युरो अफ इमिग्रेसनको फ्युजिटिभ सर्च युनिटले फिलिपिनी नेसनल पुलिससँगको संयुक्त अपरेसन गरी उनलाई पक्राउ गरेको थियो ।
फिलिपिन्सको अध्यागमन विभागका अनुसार अनुसन्धानका क्रममा पाठक अन्य गम्भीर सुरक्षा चुनौतीका गतिविधिमा समेत संलग्न रहेको पाइएको थियो । उनले जेलबाट भागेका कैदीहरूलाई आर्थिक सहयोग गर्ने, हतियारमा पहुँच पु¥याउने र आत्मसमर्पण नगर्न उक्साउने गरेको सूचना प्राप्त भएको विभागले जनाएको छ ।
सरकारी अभिलेखअनुसार पाठक सन् २०२५ अगस्ट १८ मा फिलिपिन्स प्रवेश गरेका थिए । उनको वैधानिक बसाइँको अनुमति डिसेम्बर १८ मा समाप्त भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया