काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनताको घरदैलोमा पुर्याउन नसकिने बताएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले भ्रष्टाचार नियन्त्रणलाई विकास र समृद्धिको अनिवार्य सर्तको रूपमा औँल्याए ।
राष्ट्रपतिले भने, ‘अख्तियार दुरुपयोग केवल कानुन उल्लङ्घन मात्र होइन, यो नागरिकको आस्था, विश्वास र भविष्यका सपनामाथि गरिने गहिरो आघात हो । सार्वजनिक शक्तिको दुरुपयोगले राज्य र नागरिकबिचको भरोसा कमजोर बनाउँछ र शासन प्रणालीप्रति निराशा जन्माउँछ ।’
उनले आयोगलाई कसैको दबाब वा प्रभावमा नपरी निष्पक्ष र प्रभावकारी ढंगले काम गर्न आग्रह गर्दै सबैको साझा दायित्व रहेको बताए । उनले भ्रष्टाचार उन्मूलनका लागि दृढ राजनीतिक प्रतिबद्धता, पदाधिकारीहरूको सकारात्मक कार्य संस्कृति र सदाचार, नैतिकता, पारदर्शिता र निर्भीकतालाई जीवन पद्धतिका रूपमा अपनाउनुपर्नेमा जोड दिए ।
राष्ट्रपतिले पौडेलले भने, ‘भ्रष्टाचार विरुद्धको संघर्ष कुनै एक संस्थाको मात्र जिम्मेवारी होइन, यो राज्यका सबै अङ्ग, राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र र नागरिक समाजको संयुक्त प्रतिबद्धताबाट मात्र सफल हुन सक्छ । आयोगले झुक्ने छैन र दबाब वा प्रभावमा नपरी निष्पक्ष रूपमा काम गर्नैपर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया