गुठी संस्थानद्वारा महाशिवरात्री पर्वको तयारी पूरा, ४० लाख खर्च लाग्ने

लोकपथ
49
Shares

काठमाडौं । गुठी संस्थानले यस वर्षको महाशिवरात्री पर्व सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा गरेको छ । संस्थानले मंगलबार पत्रकार सम्मेलन गरी फागुन १ गतेदेखि ५ गतेसम्म महाशिवरात्री पर्व सञ्चालन गरिने जानकारी दिएको हो । यस वर्ष महाशिवरात्री फागुन ३ गते मनाइँदैछ ।

गुठी संस्थानका प्रवक्ता जनक पोखरेलका अनुसार पर्वअघि र पछाडि गर्नुपर्ने सबै व्यवस्थापनको तयारी सम्पन्न भइसकेको छ । महाशिवरात्रीका अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्र तथा काठमाडौंका विभिन्न अखडाहरूमा आउने साधुसन्तको सेवा, पूजा र व्यवस्थापनका लागि आवश्यक व्यवस्था मिलाइएको उनले बताए ।

संस्थानले पर्व अवधिभर पशुपति क्षेत्रका मठ–मन्दिर तथा अखडाहरूमा रहेका साधुसन्तका लागि दाउरा, भोजन, पूजा सामग्री र दक्षिणाको व्यवस्था गर्ने जनाएको छ । फागुन १ गते गुठी संस्थान शाखा कार्यालय पशुपतिका कर्मचारीहरूले राष्ट्रपतिबाट पशुपतिनाथ मन्दिरमा अर्पण गरिने तथा साधुसन्तलाई प्रदान गरिने सामग्री परम्परागत विधिअनुसार सङ्कल्प गर्न राष्ट्रपति कार्यालय जाने कार्यक्रम रहेको छ ।

सङ्कल्प सामग्रीमा राढी, च्यादर, बख्खु, कमण्डलु, रुद्राक्ष माला, धान, दाल, घिउ, फलफूललगायत २१ प्रकारका सामग्री समावेश छन् । सोही दिन पशुपति मन्दिर परिसरमा साधुसन्तका लागि भोजन र दाउराको व्यवस्था गरिनेछ ।

फागुन २ गते अन्नपूर्ण आश्रममार्फत मन्दिर परिसरका साधुसन्तलाई भोजनको व्यवस्था गरिनेछ भने राम मन्दिर, भष्मेश्वर, निर्मल, मृगस्थली गोरखनाथ, वनकाली तथा थापाथली क्षेत्रका अखडाहरूमा दाउरा र भोजनको प्रबन्ध मिलाइनेछ । मुख्य दिन फागुन ३ गते शाखा कार्यालय पशुपतिबाट पञ्चामृतसहित पूजा सामग्री पशुपतिनाथ मन्दिरमा अर्पण गरिनेछ । सोही दिन साँझ मन्दिर परिसरमा बत्ती बालिने र साधुसन्तलाई दही, फलफूल तथा धुनी बाल्न दाउरा वितरण गरिने जनाइएको छ ।

फागुन ४ गते पनि मन्दिर परिसर र अखडाहरूमा साधुसन्तका लागि भोजन र दाउराको व्यवस्था निरन्तर रहनेछ । फागुन ५ गते बिहान भोजन गराइसकेपछि साधुसन्तलाई दक्षताअनुसार विभिन्न रङ्काका कार्ड वितरण गरी सोही कार्डका आधारमा तोकिएको दरअनुसार दक्षिणा प्रदान गर्दै बिदाइ गरिनेछ ।

प्रवक्ता पोखरेलले गुठी संस्थानको मुख्य जिम्मेवारी परम्पराबमोजिम महाशिवरात्री पर्वमा आउने साधुसन्तको सेवा गर्नु रहेको बताए । पशुपति क्षेत्रभित्रका मठ, मन्दिर तथा अखडाहरूमा गुठी संस्थान शाखा कार्यालय पशुपतिले र थापाथली क्षेत्रका अखडाहरूमा शाखा कार्यालय काठमाडौंले आवश्यक व्यवस्थापन गर्नेछ भने प्रधान कार्यालयले समन्वय र सहयोग गर्नेछ ।

गुठी संस्थानले यस वर्ष महाशिवरात्री पर्वका लागि दाउरा खरिदमा ८ लाख रुपैयाँ र पर्व सञ्चालनका लागि ३२ लाख रुपैयाँ गरी कुल ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गत वर्ष महाशिवरात्रिमा २ हजार ३ सय ८९ जना साधुसन्तलाई वर्गीकृत गरी दक्षिणासहित बिदाइ गरिएको थियो । सो क्रममा दक्षिणा वितरणमा मात्र २० लाख ५८ हजार ६ सय ७१ रुपैयाँ खर्च भएको थियो भने करिब ५० हजार केजी दाउराको व्यवस्था गरिएको संस्थानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?