प्रधानमन्त्री कार्कीको सुरक्षा फौजलाई निर्देशन : चुनावी सुरक्षामा कुनै कमजोरी नहोस्

लोकपथ
70
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचनको सुरक्षामा कुनै पनि प्रकारको कमजोरी हुन नदिन सुरक्षा निकायलाई उच्च सतर्कताका साथ काम गर्न निर्देशन दिएकी छन् ।

महाशिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा सैनिक मुख्यालय जङ्गी अड्डामा आजदेखि सुरु भएको पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले विगतका निर्वाचनका क्रममा सुरक्षा संयन्त्रबीच देखिएका समन्वयगत त्रुटि र रिक्तता यसपटक दोहोरिन नदिन विशेष ध्यान दिन आग्रह गरिन् ।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘यस निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न अघिल्ला चुनावका अनुभव र आसन्न निर्वाचनका विविध आयामको विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायसँग समन्वय गरेर त्रुटिरहित ढङ्गले काम गर्नु आवश्यक छ ।’

निर्वाचनलाई सुरक्षित वातावरणमा सम्पन्न गर्न नेपाल सरकारबाट स्वीकृत ‘प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ अनुसार नेपाली सेनालाई तोकिएका जिम्मेवारीहरू उत्कृष्ट रूपमा सम्पन्न हुनेमा आफू विश्वस्त रहेको प्रधानमन्त्री कार्कीले स्पष्ट पारिन् ।

उनले जनतालाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउँदै सबै राजनीतिक दलका गतिविधि बिना अवरोध सञ्चालन हुने वातावरण सृजना गर्न अन्य सुरक्षा निकायसँग सहकार्य गर्दै स्पष्ट कार्ययोजनासहित अघि बढ्न निर्देशन दिइन् ।

बैठकमा नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय र निर्देशनालयका प्रमुख तथा पृतनापतिहरूको सहभागिता रहेको थियो । प्रधानसेनापति अशोकराज सिग्देलले बैठकको उद्घाटन गर्दै समग्र सुरक्षा व्यवस्थाको वर्तमान अवस्थाबारे जानकारी गराएका थिए ।

सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार बैठकमा सहभागीहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, हालसम्म सम्पादन भएका कार्यहरूको समीक्षा, सुझाव प्रस्तुत गर्नुका साथै समसामयिक सुरक्षा चुनौतीका विषयमा छलफल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?