काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले आर्थिक वृद्धिदर बढ्दै गएसँगै समाजमा असन्तुष्टि र अस्थिरता बढ्ने बताएका छन् ।
क्लिकमाण्डुद्वारा आयोजित ‘जेनजेड प्रदर्शनपछिको व्यावसायिक वातावरण’ विषयक अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा गभर्नर पौडेलले फ्रान्स र चीन जस्ता देशमा भएको क्रान्ति तथा विद्रोहको उदाहरण दिँदै भने, ‘आर्थिक वृद्धि प्रारम्भिक चरणमा स्थायित्व बढाउँछ, तर वृद्धि बढ्दै गएपछि अवसरहरूको असमान वितरणले मानिसहरूमा असन्तुष्टि जन्माउँछ ।’
उनका अनुसार नेपालमा उदारीकरण नीतिका कारण केही व्यक्तिहरू धनी हुँदै आएका छन्, तर यसलाई समाजमा राम्ररी बुझाउन नसक्दा समस्या उत्पन्न भएको छ । विशेष गरी नेपालमा नवप्रवर्तन (इन्नोभेसन) आधारित सम्पत्ति कमाउनेभन्दा लाइसेन्स र आयातमा आधारित सम्पत्ति संचित गर्ने परिपाटीले असमानता झन् देखिने गरेको उनले बताए ।
गभर्नर पौडेलले भने, ‘नेपालमा आर्थिक वृद्धिदर अलिकति बढ्न थालेपछि अस्थिरता देखिन्छ । अवसर कहाँ गए, कसले पाए भन्नेमा असन्तुष्टि पैदा हुन्छ । त्यसैले उदारीकरण गर्दा धनी हुने मानिसहरूको अवस्था राम्रोसँग बुझाउनु जरुरी छ ।’
उनले समाजमा विद्रोह वा अस्थिरताको जोखिम कम गर्न आर्थिक वृद्धि समावेशी बनाउन र अवसरहरूको न्यायोचित वितरण सुनिश्चित गर्न आवश्यक रहेको पनि जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया