निजी क्षेत्रको मनोबल कमजोर भए मुलुक समृद्धि सम्भव छैन : मन्त्री सिन्हा

लोकपथ
70
Shares

काठमाडौं । अन्तरिम सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले निजी क्षेत्रको मनोबल कमजोर भए मुलुक समृद्धिको बाटोमा अघि बढ्न नसक्ने बताएका छन् ।

क्लिकमाण्डुद्वारा आयोजित ‘जेनजी आन्दोलनपछिको लगानीकर्ताको मनोबल’ सम्बन्धी सिम्पोजियममा बोल्दै मन्त्री सिन्हाले निजी क्षेत्रलाई नेपालको अर्थतन्त्रको इन्जिन र मेरुदण्डको रूपमा परिभाषित गरे । 

उनले भने, ‘नेपालको कुल गार्हस्थ्य उत्पादनमा ८१ प्रतिशत योगदान र ८५ प्रतिशत रोजगारी सिर्जना गर्ने निजी क्षेत्र नै असुरक्षित महसुस गर्छ भने मुलुक समृद्धिको यात्रा सम्भव छैन ।’

सिन्हाले भदौ २३ र २४ गतेका घटनापछि निजी क्षेत्रले व्यहोरेको प्रत्यक्ष भौतिक क्षति ३४ अर्ब र अप्रत्यक्ष आर्थिक क्षति करिब ८१ अर्ब रहेको उल्लेख गर्दै, ‘यी क्षतिभन्दा पनि लगानीकर्ताको खस्किएको आत्मविश्वास सरकारका लागि ठुलो चुनौती हो,‘उनले भने ।

उनले भने, ‘केही दिन राज्य सरकार विहीन जस्तो अवस्थामा थियो, तर अहिले शान्ति सुरक्षाको अवस्था सुधारिएको छ। यसपछि निजी क्षेत्रको मनोबल बढाउनका लागि नीतिगत सुधार आवश्यक छ।’

मन्त्री सिन्हाले कच्चा पदार्थमा लाग्ने महशुल र आयातित वस्तुमा लाग्ने करको असन्तुलनमा स्वार्थ समूहको चलखेल भएको संकेत गर्दै, केही नीतिगत निर्णयले लामो समयदेखि अड्किएका समस्याहरू समाधानमा आएको पनि बताए ।

सिन्हाले न्यायालयको अवस्था र विवाद समाधान संयन्त्र कमजोर भएकोमा चिन्ता व्यक्त गर्दै, व्यावसायिक विवादहरू तत्काल हल नगरे ‘टाइम इज मनी’को अवधारणा सफल नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?