अल्का अस्पतालद्वारा वाथरोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

लोकपथ
21
Shares

काठमाडौं । अल्का अस्पतालले आफ्नो वार्षिकोत्सवको अवसरमा वाथरोगसम्बन्धी वृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । आइतबारदेखि सुरु भएको शिविर माघ २५, २७ र २९ गतेसम्म अस्पताल परिसरमै आयोजना गरिएको अस्पतालका प्रशासन प्रमुख भगवान केसीले जानकारी दिए ।

शिविरमा वाथरोगसँग सम्बन्धित युरिक एसिड, आरएफ (र्युमाटोइड फ्याक्टर), एन्टि–सीसीपी, ईएसआर, सीआरपीलगायतका प्रयोगशाला परीक्षणहरू निःशुल्क गरिएको छ । वाथरोग विशेषज्ञबाट प्रारम्भिक परीक्षणपछि सिफारिसका आधारमा आवश्यक किट टेस्टहरू समेत निःशुल्क उपलब्ध गराइएको केसीले बताए । वाथरोगको औषधि सेवन गरिरहेका बिरामीहरूलाई निःशुल्क औषधि वितरण पनि गरिएको छ ।

वाथरोग विशेषज्ञ डा.श्रेया श्रेष्ठका अनुसार वाथरोग प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम) मा गडबडी हुँदा उत्पन्न हुने दीर्घकालीन रोग हो । इम्युन सिस्टमले शरीरलाई संक्रमणबाट जोगाउनु पर्ने भए पनि गडबडीका कारण आफ्नै जोर्नी, छाला तथा भित्री अंगहरूमा आक्रमण गर्दा वाथरोग देखिने उनले बताइन् । वाथले जोर्नी दुख्ने र सुन्निने मात्र नभई आँखा, फोक्सो र मिर्गौलाजस्ता भित्री अंगहरूलाई समेत असर गर्न सक्ने उनको भनाइ छ ।

डा.श्रेष्ठले समयमै रोग पहिचान र उपचार नभए जोर्नी स्थायी रूपमा बिग्रनुका साथै लुपस वाथका कारण मिर्गौला डायलसिससम्मको अवस्था आउन सक्ने चेतावनी दिइन् । वाथ दीर्घकालीन रोग भएकाले पहिचान भएपछि लामो समयसम्म नियमित औषधि सेवन आवश्यक हुने उनले बताइन् ।

उनका अनुसार वाथरोग कुनै निश्चित उमेर समूहमा मात्र सीमित हुँदैन । नवजात शिशुदेखि वृद्धसम्म जुनसुकै उमेरमा पनि वाथ देखिन सक्छ । लुपस वाथ प्रायः १८–२० वर्षका युवतीमा, ढाडको वाथ ३०–४० वर्षका पुरुषमा र हड्डी खिइने वाथ वृद्धावस्थामा बढी देखिने जानकारी उनले दिइन् ।

शिविरमा सहभागी अधिकांश बिरामीहरू पहिले नै वाथरोगको निदान भइसकेका तर नियमित फलोअप नगरेका पाइएको डा। श्रेष्ठले बताइन् । ४०–५० वर्ष उमेर समूहका ढाडको वाथ भएका पुरुष तथा ३०–४० वर्ष उमेर समूहका जोर्नी दुखाइ भएका महिलाहरू उपचारका लागि बढी आएको उनले जानकारी दिइन् ।

अल्का अस्पतालले यसअघि पनि विभिन्न रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जनाएको छ । यस पटक वाथरोगमा केन्द्रित शिविरमार्फत विशेषज्ञ सेवा र प्रयोगशाला परीक्षण निःशुल्क उपलब्ध गराइएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?