कार्बन फाइनान्सिङ विस्तारका लागि स्पष्ट नीति आवश्यक : अञ्जन श्रेष्ठ

लोकपथ
77
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले कार्बन फाइनान्सिङलाई प्रभावकारी रूपमा विस्तार गर्न स्पष्ट र व्यवहारिक नीति आवश्यक रहेको बताएका छन् ।

आइतबार ललितपुरमा आयोजित कार्बन व्यापारसम्बन्धी कार्यक्रममा बोल्दै उनले नीतिगत स्पष्टता भएमा बैंक तथा वित्तीय संस्थाहरू कार्बन फाइनान्सिङमा सक्रिय रूपमा अघि बढ्न सक्ने उल्लेख गरे । हाल बैंकहरूले ग्रिन फाइनान्सअन्तर्गत लगानी गरिरहेको भए पनि कार्बन फाइनान्सिङका लागि अझै स्पष्ट नीति व्यवस्था नहुँदा लगानी विस्तारमा कठिनाइ भएको उनको भनाइ छ ।

श्रेष्ठले बैंकहरूले कार्बन क्रेडिटलाई वित्तीय सम्पत्तिका रूपमा बुझ्न र मूल्यांकन गर्न सक्ने वातावरण बनाउन प्राविधिक सहयोग र नीतिगत स्पष्टता आवश्यक रहेको बताए । साथै, कार्बन निवारणसम्बन्धी नियमावली तथा कार्यविधि परिमार्जन गर्दा निजी क्षेत्रले भोगिरहेका वास्तविक समस्यालाई सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए ।

निजी क्षेत्रलाई सहभागितामूलक ढंगले अघि बढाएमा मात्र कार्बन फाइनान्सिङ व्यवहारिक र दिगो बन्ने उल्लेख गर्दै उनले ठूला योजना अघि सार्नुभन्दा पहिले केही सफल नमूना (पाइलट) परियोजना सुरु गर्न सुझाव दिए । यस्ता परियोजनाबाट बैंक तथा लगानीकर्ताको विश्वास बढ्ने उनको भनाइ छ ।

श्रेष्ठका अनुसार सरकारले सहजकर्ताको भूमिका खेलेमा नेपालले कार्बन व्यापारमार्फत अर्बौं रुपैयाँ बराबरको राजस्व भित्र्याउन सक्छ । यसका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन र विश्वास गर्नुपर्नेमा उनले जोड दिए ।

उनले एफएनसीसीआई कार्बन व्यापारको अधिकार सुनिश्चित गर्न सरकार र अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य गर्न तयार रहेको पनि बताए । कतिपयले कार्बन व्यापारलाई ‘हावाको व्यापार’ भने पनि यो अत्यन्तै महत्वपूर्ण व्यापार भएको उल्लेख गर्दै यसबाट मुलुकले उल्लेखनीय आर्थिक फाइदा लिन सक्ने उनको धारणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?