बर्दियामा चितुवाको आक्रमणमा परी एकै दिन दुई महिलाको मृत्यु 

लोकपथ
63
Shares

बर्दिया । बर्दियामा चितुवाको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा गुलरिया नगरपालिका–४ तुलसीपुर टोलका ३५ वर्षीया नन्दु रोकाय र मधुवन नगरपालिका–९ की ४९ वर्षीया मैसरा डाँगी छन् । 

रोकायलाई बारबर्दिया नगरपालिका–११ बेलभारस्थित जागृति सामुदायिक वनमा घाँस काट्न गएको बेला हिजो बिहीबार बिहान साढे ११ बजे चितुवाले आक्रमण गरेको जनाइएको छ । 

त्यस्तै डाँगीलाई हिजो बिहीबार बेलुकीपख चितुवाले आक्रमण गरेको जनाइएको छ । नेपाल–भारत सिमाना क्षेत्रमा स्थानीयसँग घाँस काट्न गएको समयमा उनलाई चितुवाले आक्रमण गरी भारततर्फको जंगलमा लगेको थियो । 

बर्दियाको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी देवेन्द्रकुमार मल्लले खोजी गर्ने क्रममा डाँगीको शव बेलुकी साढे ७ बजेतिर नेपाल–भारत सीमा स्तम्भ ७० नम्बरदेखि करिब १ सय मिटर पर नेपाल तर्फकै अरहर बारीमा फेला परेको थियो । 

यस्तै, माघ १५ गते मात्रै बारबर्दिया नगरपालिका– ११ जब्दीका ५० वर्षीय प्रेमबहादुर घर्ती मगरमाथि  चितुवाले आक्रमण गरेको थियो । स्थानीय जनमुक्ति सामुदायिक वनमा घाँस काट्न गएको बेला उनलाई चितुवाले आक्रमण गरेको थियो । घाँटीमा गहिरो घाउको खत रहेका उनको उपचार जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?