राष्ट्रियसभामा आज सामाजिक सञ्जाल विधेयक फिर्ताको प्रस्ताव पेस गरिने

लोकपथ
224
Shares

काठमाडौं । राष्ट्रियसभा बैठकमा आज (शुक्रबार) प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख विधेयक प्रस्ताव पेस गर्ने तयारी गरेकी छन् । बैठक अपराह्न १:१५ बजे सुरु हुने भएको छ ।

प्रधानमन्त्री कार्कीले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नेछिन् । यसअघि मंगलबारको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक संघीय संसदबाट फिर्ता लिन स्वीकृति दिएको थियो । सो विधेयक राष्ट्रियसभाको १७औँ अधिवेशनमा दर्ता भई हाल विधायन व्यवस्थापन समितिमा विचाराधीन थियो ।

बैठकको सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्री कार्कीले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछिन् । त्यसअघि उनले सो विधेयक माथि समितिको प्रतिवेदनसहित छलफलको प्रस्ताव पेस गर्ने कार्यक्रम छ ।

यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी समितिको अध्ययन प्रतिवेदन, २०८२’ माथि छलफलको प्रस्ताव बैठकमा पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ माथि दफावार छलफलको लागि राष्ट्रियसभा विधायन व्यवस्थापन समितिको बैठक आज बिहान ११:०० बजे बस्ने छ । समिति सभापति तुलसाकुमारी दाहालले यसबारे जानकारी दिएकी छिन् ।

राष्ट्रियसभाले आजका प्रस्तावित विधेयकमाथि छलफल र पारित गर्ने कार्यसूची अघि बढाउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?