काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले झापा क्षेत्र नम्बर ५ मा पार्टी अध्यक्ष केपी शर्मा ओली नै विजयी हुने दाबी गरेका छन् ।
प्रेस चौतारी नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै उपाध्यक्ष गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र साह (बालेन) झापा–५ बाट निर्वाचन जित्न नसक्ने जिकिर गरे । उनले काठमाडौंमा सुकुम्बासी बस्ती र गरिखाने सडकका नागरिकमाथि डोजर चलाएको व्यक्तिले झापामा गएर सुकुम्बासीलाई लालपूर्जा दिन्छु भन्ने कुरामा विश्वास गर्न नहुने बताए ।
उपाध्यक्ष गुरुङले झापा–५ का सुकुम्बासी नागरिकलाई भ्रममा नपर्न अपिल गर्दै बालेनको विगत, वर्तमान र भविष्य हेर्दा उनले सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने विश्वास गर्न नसकिने धारणा राखे ।
उनले रास्वपाले झुटा प्रचारमार्फत एमालेको निर्वाचन अभियान कमजोर पार्ने उद्देश्यले पार्टी अध्यक्ष ओलीसँग प्रतिस्पर्धा गराउन बालेनलाई झापा–५ मा उम्मेदवार बनाएको आरोप पनि लगाए ।
उपाध्यक्ष गुरुङले भने, ‘काठमाडौंको सुकुम्बासी बस्तीमा डोजर चलाउने व्यक्ति झापामा गएर सुकुम्बासीलाई लालपूर्जा दिन्छु भन्नु जनतालाई धोका दिनु हो । यस्ता भ्रममा नपर्न सबैलाई आग्रह गर्छु ।
उनले निर्वाचनको अन्तिम परिणाम पार्टी अध्यक्ष ओलीकै पक्षमा आउने दाबी गर्दै आसन्न निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने विश्वास व्यक्त गरे । साथै, जनताले नयाँ अनुहारभन्दा पनि सुधारसहितका पुराना राजनीतिक दललाई नै रोज्ने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया