सर्लाहीमा पहिलोपटक आमाको नामबाट नागरिकता जारी

लोकपथ
42
Shares

सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले पहिलोपटक आमाको नाममा नागरिकता जारी गरेको छ । सोमबार यहाँको लालबन्दी नगरपालिका–७, बस्ने राम मनोहर गुप्तालाई जिल्ला प्रशासन कार्यालयले आमाको नामबाट नागरिकता प्रदान गरेको हो । 

नेपाल नागरिकता ऐन, २०६३ दोस्रो संशोधन र नागरिकता नियमावली, २०६३ चौथो संशोधनका आधारमा बाबु विदेशी आमा नेपाली भएका गुप्तालाई अङ्गीकृत नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी रामुराज कँडरियाले जानकारी दिए ।

‘ऐन र नियमावली संशोधनपछि जिल्ला प्रशासन कार्यालयले आमाको नामबाट सोमबार पहिलोपटक नागरिकता जारी गरेको छ, ‘प्रमुख जिल्ला अधिकारी कँडरियाले भने, ‘योसँगै बुबाको अत्तोपत्तो नभएका, विदेशी बुवा र नेपाली आमाबाट जन्मिएका सन्तानले आमाको नामबाट अङ्गीकृत नागरिकता पाउने बाटो खुलेको छ ।’ यसबाट जिल्लाका धेरै नागरिकताविहीन नेपाली सन्तानको समस्या हल हुने अपेक्षा गरिएको उनले बताए ।

संशोधन ऐनअनुसार आफूले दुई हप्ता पहिलादेख जिल्लाका २० वटै पालिकामा परिपत्र गरेको जनाउँदै प्रजिअ कँडरियाले सोहीअनुसार प्रक्रिया पूरा गरी नागरिकता जारी गरिएको बताए । 

नागरिकता नभएकै कारण शिक्षा र सीप भएर पनि जागिर गर्न नपाएका, बैंक खातादेखि सिमकार्ड आफ्नो प्रयोग गर्न नपाएकाको समस्या अब समाधान हुने उनले विश्वास व्यक्त गरे। 

‘आजदेखि आधिकारिक रूपमा म नेपाली नागरिक भएको छु । नेपाली नागरिकबाट नेपाल भूगोलमा जन्मिएको एउटा सन्तानले आफूलाई नेपाली करार गर्न गर्नुपरेको सङ्घर्ष पीडादायी र चुनौतीपूर्ण छ, ‘नागरिकता पाएपछि गुप्ताले भने । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?