काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा बृहत अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुने भएको छ ।
संघले काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरी फागुन ३० गतेदेखि चैत २ गतेसम्म सम्मेलन तथा महाधिवेशन हुने जानकारी दिएको हो ।
सम्मेलन आयोजनाका लागि परराष्ट्रमन्त्रीको अध्यक्षतामा एक उच्चस्तरीय आयोजक समिति गठन गरिएको संघले जनाएको छ ।
उक्त समितिको सचिवालयका रूपमा गैरआवासीय नेपाली संघको सचिवालयले नै कार्य गर्नेछ । सम्मेलन तथा महाधिवेशनका तयारीका कामहरू क्रमशः अगाडि बढिरहेका संघले जनाएको छ । सम्मेलनमा गैरआवासीय नेपालीसम्बन्धी ऐन, गैरआवासीय नेपाली नागरिकताबाट प्राप्त हुने संविधानप्रदत्त आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार, गैरआवासीय नेपालीको संयुक्त लगानी, पर्यटन, स्वास्थ्य, ज्ञान, सीप र प्रविधि हस्तान्तरण, विदेशमा जन्मिएका युवाहरुलाई नेपासंग जोड्ने विषयमा केन्द्रित हुने संघका अध्यक्ष डा. बद्री केसीले जानकारी दिए ।
उनले एकता महाधिवेशनले गैरआवसीय नेपालीहरुको समस्या समाधानमा गर्न सरकारलाई दबाब सिर्जना गर्ने उल्लेख गरे ।
उनले नेपालबाहिर रहेका नेपालीहरुलाई निर्वाचनमा मतदान गर्ने अधिकार नेपाल सरकारले उपलब्ध गराउनुपर्नेमा जोड र्दिए ।
उनकाअनुसार हाल बाहिर रहेका करिव ८० लाख नेपालीमध्ये अधिकांशले नेपाली नागरिकता कायम राखेरै विदेशमा बसोवास गरिरहेका छन् ।
विदेशमा बसोबास गरिरहेका नेपालीले नेपालकै निर्वाचन प्रक्रियामा सहभागिता जनाउन पाउनु नैसर्गिक अधिकार भएको उनको भनाई छ ।
परिवर्तित समयमा विदेशमा बसेर पनि नेपालमा भोट हाल्ने अधिकार सुनिश्चित हुने कुरामा आफू विश्वस्त रहेको उनले बताए ।
उनले भने, ‘आजको परिवर्तित नेपालमा नेपालको मूल्य र मान्यता पनि परिवर्तन भएका छन् । पहिला हामीले संविधानमा गैरआवासीय नेपालीहरुको अधिकार मागेका थियौँ भने अब ८० लाख नेपालीहरु मध्ये अधिकांश नेपालीहरु नेपाली नागरिकता नै राखेर विदेशमा बसेका छन् । अब परिवर्तित नेपालको निर्वाचनमा विदेशमा नै बसेर पनि नेपालको निर्वाचनमा भाग लिन पाउने कुराहरु हाम्रो नैसर्गिक अधिकार भित्र पर्छ । मलाई आशा छ, यो परिवर्तित समयमा विदेशमा बसेर पनि नेपालमा भोट हाल्ने हाम्रा अधिकारहरु सुनिश्चित हुन्छन् । अब देश अरु कसैले बनाउँदैन, संसारका सबै विकसित देश हेर्ने हो भने त्यो देशका आप्रवासीहरुले नै विदेशमा बसेको सीप र ज्ञानलाई आफ्नो देशमा भित्र्याएर, विदेशमा कमाएको पैसालाई आफ्नो देशमा भित्र्याएर देशलाई समृद्ध बनाउन सहयोग गरिरहेका छन् । अब पालो गैरआवसीय नेपाली संघको हो, अब पालो गैरआवासीय नेपालीहरुको हो । हामी विदेशमा कमाएको सीप, ज्ञान, प्रविधि, विदेशमा कमाएको पैसा नेपालमा भित्र्याउन तयार छौँ । नेपालमा लगानी गर्न तयार छौँ ।’
अध्यक्ष केसीले विश्वका विकसित देशहरू आप्रवासीको सहयोगले नै समृद्ध भएको बताए । उनले विदेशमा आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पूँजी स्वदेशमा भित्र्याएर देश विकासमा गैरआवासीय नेपालीले महत्वपूर्ण योगदान गर्ने दाबी गरे ।
उनले नेपालमा लगानी गर्न आफूहरु पूर्ण रूपमा तयार रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया