काठमाडौं । आइतबार सुन र चाँदीको मूल्यमा भारी गिरावट आउने भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट आएसँगै नेपाली बजारमा पनि गिरावट आउन लागेको हो ।
शुक्रबार सुन तोलामै २० हजार ५ सय रुपैयाँले गिरावट आई ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार प्रति तोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएकामा २० हजार ५ सय रुपैयाँले गिरावट आएको थियो । प्रतिशतका आधारमा हेर्दा शुक्रबार सुन तोलामा ६ दशमलव शून्य चार प्रतिशतले घटेको थियो ।
शनिबार नेपाली बजारमा सुनको मूल्य नतोकिने भए पनि आइतबार भने फेरि सुनको मूल्यमा भारी गिरावट आउने भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएसँगै नेपाली बजारमा पनि गिरावट आउन लागेको हो ।
आइतबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति ग्राम १५७ दशमलव ३२ अमेरिकी डलर रहेको छ । जुन अघिल्लो दिनको तुलनामा ८ दशमलव १५ प्रतिशतले कमी हो ।
आइतबार अमेरिकी डलरको सटही दर १४७ दशमलव ४८ नेपाली रुपैयाँ रहेको छ । यसरी हेर्दा अन्तर्राष्ट्रिय बजारमा सुन प्रति ग्राम २३ हजार २०१ रुपैयाँ ५५ पैसा कायम हुन्छ । नेपालमा सुन भित्राउँदा १० प्रतिशत भन्सार शुल्क र करिब शून्य दशमलव ५ प्रतिशत अन्य शुल्क लाग्छ । यसरी विदेशबाट सुन नेपाल ल्याउँदा भन्सार १० दशमलव ५० प्रतिशत थप शुल्क लाग्छ । नेपालमा आइपुग्दा सुनको मूल्य आइतबारको दर भाउमा प्रतिग्राम २५ हजार ६३७ रुपैयाँ ७१ पैसा हुन्छ ।
अब तोलामा हिसाब गर्दा एक तोलामा ११ दशमलव ६६४ ग्राम हुन्छ । यसरी हेर्दा आइतबार सुन तोलाको २ लाख ९९ हजार ३८ रुपैयाँ हुन्छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले राउन्ड फिगरमा सुनको मूल्य कायम गर्दा २ लाख ९९ हजार १०० रुपैयाँ कायम गर्न सक्ने देखिन्छ । शुक्रबारसँग तुलना गर्दा सुन तोलामै १९ हजार ७ सय रुपैयाँले कमी आउन सक्ने देखिएको छ । प्रतिशतमा हेर्दा आइतबार पनि करिब ६ प्रतिशतले सुनको मूल्यमा गिरावट आउन सक्ने देखिएको छ ।
चाँदीमा पनि करिब २६ प्रतिशतको गिरावट
यता चाँदीको मूल्यमा अझै ठुलो गिरावट आएको छ । बिहीबार अल टाइम हाई भएर प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ कायम भएको चाँदी शुक्रबार घटेर ७ हजार ६५ रुपैयाँ कायम भएको थियो । शुक्रबार तोलामा ४ सय ४० रुपैयाँले घटेको चाँदीमा आइतबार धेरै ठुलो गिरावट आउने भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा चाँदी प्रति किलोग्राम २ हजार ७ सय ४३ दशमलव ८६ अमेरिकी डलर रहेको छ । यसलाई नेपाली रुपैयाँमा परिवर्तन गर्दा आइतबार प्रति किलोग्राम ४ लाख ४ हजार ६६४ रुपैयाँ ४७ पैसा हुन आउँछ ।
चाँदीमा पनि करिब १० दशमलव ५० प्रतिशत नै भन्सार र अन्य खर्च लाग्ने भएकाले नेपाल ल्याउँदा चाँदी प्रतिकिलो ४ लाख ४७ हजार १५४ रुपैयाँ २३ पैसा पर्न जान्छ ।
यसलाई सानो इकाईमा हिसाब गर्दा नेपाली बजारमा चाँदीको मूल्य प्रति ग्राम ४४७ रुपैयाँ १५ पैसा कायम हुन्छ ।
एक तोलामा ११ दशमलव ६६४ ग्राम हुने भएकाले चाँदीको मूल्य प्रतितोला ५ हजार २ सय १५ रुपैयाँ कायम हुन्छ । यसलाई प्रतिशतमा हिसाब गर्ने हो भने एकै दिनमा चाँदीको मूल्य २६ प्रतिशत भन्दा बढीले झर्ने सम्भावना रहेको छ ।
बिहीबारसँग तुलना गर्दा चाँदीको मूल्यमा दर भाउ आउने दुई दिनमै करिब ३० दशमलव ५१ प्रतिशतको गिरावट आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया