जुम्ला । हिमपातका कारण अवरुद्ध भएको नाग्म–गमगढी सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय जुम्लाले डोजर प्रयोग गरी सडकमा जमेको हिउँ पन्छाएसँगै यातायात सञ्चालनमा आएको हो ।
बाक्लो हिमपातका कारण सडकमा हिउँ जम्दा सवारीसाधन चल्न नसक्ने अवस्था सिर्जना भएको थियो । सडक अवरुद्ध भए लगत्तै सडक डिभिजन कार्यालयले हिउँ पन्छाउने उपकरण तथा जनशक्ति परिचालन गरी बाटो खुलाउने काम सुरु गरेको थियो ।
माघ ११ गतेदेखि सडक आंशिक रूपमा सञ्चालनमा आएको थियो भने सडकमा जमेको बाँकी हिउँ पूर्ण रूपमा हटाएपछि अहिले सवारीसाधन सहज रूपमा चल्न थालेका छन् ।
सडक पूर्ण रूपमा सञ्चालनमा आएसँगै बिच बाटोमा अलपत्र परेका यात्रु तथा मालवाहक सवारीसाधनहरू आ–आफ्नो गन्तव्यतर्फ लागेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।
यद्यपि, चिसो मौसम र हिउँका कारण सडक चिप्लो हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन सडक डिभिजनले सवारी चालकलाई अनुरोध गरेको छ ।
जुम्लामा यही माघ १० गते राति हिमपात भएपछि नाग्म–गमगढी सडक अवरुद्ध भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया