रौतहट । पछिल्लो समय रौतहट जिल्लामा कुष्ठरोगका बिरामीको संख्या बढ्दै गएको पाइएको छ । त्रिहत्तरौँ विश्व कुष्ठरोग दिवसका अवसरमा जिल्लास्थित स्वास्थ्य कार्यालयको समन्वयमा ‘द लेप्रोसी मिसन नेपाल’द्वारा आयोजित अभिमुखीकरण कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।
‘कुष्ठरोग छ ओखती, सामाजिक लाञ्छना र विभेद् मुख्य चुनौती’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा द लेप्रोसी मिसन नेपालका स्रोतव्यक्ति राजकुमार साहले विगतको तुलनामा पछिल्लो समय जिल्लामा कुष्ठरोगी बढेको बताए । उनका अनुसार आर्थिक वर्ष २०८१र८२ र चालु आर्थिक वर्षको साउनदेखि हालसम्म रौतहटमा १६७ जना कुष्ठरोगी भेटिएका छन् । साउनयता मात्रै ३२ जना नयाँ बिरामी फेला परेका हुन् ।
सबैभन्दा बढी यमुनामाई गाउँपालिका, कटहरिया नगरपालिका र माधवनारायण नगरपालिकामा कुष्ठरोगी देखापरेको साहले जानकारी दिए । उनका अनुसार कुष्ठरोगका बिरामी दुई प्रकारका हुन्छन् । एक प्रकारका बिरामीले छ महिनासम्म औषधि सेवन गर्नुपर्ने हुन्छ भने अर्को प्रकारका बिरामीले एक वर्षसम्म नियमित औषधि सेवन गर्नुपर्ने हुन्छ ।
कुष्ठरोगको उपचार पालिकास्तरीय स्वास्थ्य संस्थाबाटै उपलब्ध हुने जनाउँदै उनले शंका लागेमा नजिकको स्वास्थ्य संस्थामा गएर जाँच तथा उपचार गराउन आग्रह गरे । समयमै रोग पहिचान र नियमित औषधि सेवन गरेमा कुष्ठरोग पूर्ण रूपमा निको हुने स्वास्थ्य कार्यालय रौतहटका प्रमुख राजेश सिंहले बताए ।
उनले कुष्ठरोगबारे समाजमा अझै पनि गलत धारणा, डर र भेदभाव कायम रहेको उल्लेख गर्दै जनचेतनाका माध्यमबाट सचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया