रसुवा । जिल्लाको रसुवा भन्सार कार्यालय, टिमुरेद्वारा सीजी मोटर्स प्रालिलाई भन्सार नियम तथा कानुनको पालना गर्दै नियमित रुपमा राजस्व संकलनमा योगदान पुर्याएको भन्दै सम्मानित गरेको छ ।
सोमबार ७४औँ अन्तर्राष्ट्रिय कर दिवस २०२६ का अवसरमा त्यहाँ आयोजित कार्यक्रममा सीजी मोटर्सलाई नियमित राजस्व संकलनमा योगदान पुर्याएको भन्दै कदरपत्रसहित सम्मानित गरिएको हो ।
विश्व भन्सार संगठनद्वारा निर्धारित यस वर्षको नारा ‘सतर्कता र प्रतिबद्धतामार्फत समाजको संरक्षण’ गर्ने भन्सारलाई आत्मसात गर्दै आयोजित कार्यक्रममा विभिन्न सरकारी अधिकारी, भन्सार कर्मचारी, व्यवसायी तथा सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमका क्रममा सीजी मोटर्स प्रालिलाई भन्सार ऐन(नियमको पूर्ण पालना, पारदर्शी आयात तथा व्यापार प्रक्रिया, समयमै राजस्व भुक्तानी, वैध तथा व्यवस्थित व्यापार प्रवर्द्धनमा योगदान, जस्ता विषयहरूमा उत्कृष्ट भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको हो ।
रसुवा भन्सार कार्यालयले निजी क्षेत्रसँगको सहकार्यले वैध व्यापार प्रवर्द्धन, राजस्व वृद्धि तथा राष्ट्रिय आर्थिक सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गरेको छ ।
सम्मान ग्रहण गर्दै सीजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कपिल शिवाकोटीले उक्त सम्मानप्रति कृतज्ञता व्यक्त गर्दै यस भन्सार नाकासँग सहकार्य गर्ने अवसर प्राप्त भएको भन्दै आभार प्रकट गरे ।
साथै, आगामी दिनहरूमा पनि सरकारी नियम, कानुन तथा भन्सार प्रक्रियाको पूर्ण पालना गर्दै जिम्मेवार र पारदर्शी व्यवसाय सञ्चालनमा प्रतिबद्ध रहने समेत उनले बताए ।
सीजी मोटर्स प्रालि चौधरी ग्रुप अन्तर्गत सञ्चालनमा रहेको नेपालको अग्रणी अटोमोबाइल कम्पनी हो, जसले सवारी साधनहरू बिक्री–वितरण गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया