यातायात क्षेत्रबाट को–को छन् चुनावी मैदानमा ?

लोकपथ
266
Shares

काठमाडौं । यातायात व्यवसायी र यातायात मजदुरका मुद्दा बोकेर देशभर चार जना यातायात व्यवसायीले विभिन्न पार्टीबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका छन् ।

निजी क्षेत्रको लगानी र नियन्त्रण रहेको नेपालको सार्वजनिक यातायात क्षेत्रको नेतृत्व गर्दै नीति निर्माणको तहमा पुग्न चार जना ठूला यातायात व्यवसायीहरु चुनावी मैदानमा उत्रिएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौलाले बताए ।

उनकाअनुसार नेपाली कांग्रेसबाट महासंघका केन्द्रिय अध्यक्ष विजयबहादुर स्वाँरले कैलाली–२, पश्चिम यातायात व्यवसायी विष्णु खड्काले सुर्खेत–१ र वरिष्ठ व्यवसायी भागवत मल्लले स्याङ्जा–२ बाट उम्मेदवारी दिएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट कर्णाली यातायातका प्रमुख रमेश सापकोटा समेत सुर्खेत–२ बाट उम्मेदवारी दिएको सिटौलाले जानकारी दिए ।

यातायात क्षेत्रको प्रतिनिधित्व नीति निर्माणको तहमा नभएकै कारण यो क्षेत्र अस्तव्यस्त बनेको उनको भनाइ छ ।

उनले नीति निर्माण तहमा यातायात क्षेत्रको सहभागिता नहुँदा मुलुकको ठूलो लगानी भएको र आर्थिक समृद्धिको प्रमुख आधार मानिने यातायात क्षेत्र भद्रगोल अवस्थामा पुगेको समेत उल्लेख गरे ।

उनले भने, ‘नीति बनाउने ठाउँमा यातायात क्षेत्रको प्रतिनिधित्व नभएकै कारण नेपालको अत्यन्त ठुलो लगानी भएको तथा मुलुकको आर्थिक समृद्धिको वाहकका रुपमा रहेको यातायात क्षेत्र अस्तव्यवस्त भएको । नेपाली नागरिकले सबैभन्दा धेरै प्रयोग गर्ने भनेको सार्वजनिक यातायात हो । त्यसको प्रतिनिधित्व संसदमा नहुँदा यातायात क्षेत्र भद्रगोल रहेको अवस्थामा महासंघ र यातायात व्यवसायीले निर्णय गरेर महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले उम्मेदवारी दिनुभएको छ । उहाँ कैलाली क्षेत्र नं २ बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएको छ ।’

उनले चार जना उम्मेदवारलाई नीति निर्माणको तहमा पुर्‍याउन यातायात व्यवसायीहरुलाई एकजुट भएर लाग्न अपिल समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?