एउटै समय, एउटै हेलिकोप्टर र एउटै पाइलट : तर देखाइयो फरक-फरक उडान र स्थान

फेक रेस्क्युमा पक्राउ परेकाहरू हेलिकोप्टर कम्पनी र अस्पतालमा पनि मालिक !

काठमाडौं । सन् २०१८ को जुन महिनातिर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचार आउन थाल्यो कि नेपालको पर्वतीय पर्यटनमा अनावश्यक रूपमा पर्यटकको रेस्क्युको नाममा बीमाको ठगी भइरहेको छ ।

एएफपीले नेपालमा रेस्क्युको नाममा ठगी भइरहेको समाचार आएसँगै सीएनएन, द गार्जियन, वण्डरलस्ट, वल्र्ड नोमाड्सलगायतका सञ्चारमाध्यममा पनि नेपालको पर्वतीय पर्यटनमा ठगी भइरहेको र अनावश्यकरुपमा रेस्क्यु गराइएको, एकै हेलिकोप्टरमा ४ जनासम्म राखेर ल्याए पनि छुट्टाछुट्टै बिल बनाएर पेस गरी फरक फरक कम्पनीबाट फरक फरक बिल भुक्तानी गराइएको लगायतका समाचार आए ।

त्यसभन्दा पनि डरलाग्दो तथ्य पर्यटकलाई पखाला चल्ने औषधी खानामा मिसाएर खान दिने र पखाला चल्नेबित्तिकै रेस्क्युका नाममा हेलिकोप्टर चार्टर गरी लाखौँ रकम बुझ्ने गरिएको खुलासा गरियो । साथै उच्च हिमाली भेगमा जाँदा लाग्ने सामान्य लेकलाई पनि डरलाग्दो देखाएर पर्यटकलाई दिग्भ्रमित पारी रेस्क्यु गर्न जबरजस्ती गरिएको र काठमाडौं आइपुग्दा ठीक भइसकेको बिरामीलाई पनि अस्पतालमा भर्ना गरेर राखिएकोलगायतका समाचार आए ।

नेपाली पर्यटनको मेरुदण्ड नै रहेको पर्वतीय पर्यटनमा गलतरुपले आर्थिक लाभ लिएकोलगायतका समाचार बाहिर आएसँगै अन्तर्राष्ट्रिय बीमा कम्पनीहरूले नेपाल जाने पर्यटकको बीमा नै गराउन इन्कार गर्न थाले । जतिले बीमा गराए, त्यसमा पनि प्रिमियम दोब्बरभन्दा बढी भयो । किनभने अनावश्यकरुपमा रेस्क्युका नाममा हेलिकोप्टर चार्टर र अस्पताल खर्च देखाउँदा बीमा कम्पनीले लाखौँ लाख रुपैयाँ तिर्नुपर्ने भएपनि नेपाल जाने पर्यटक रिस्क जोनमा परे र प्रिमियम बढ्यो ।

नेपालमा जाने पर्यटकलाई ट्रेकिङ गाइडले नै बिरामी हुने औषधी खानामा मिसाइदिने लगायतका समाचार आएपछि नेपालको पर्वतीय पर्यटनमा आउने पर्यटकको संख्या नै घट्न थाल्यो । कतिपय देशमा अनौपचारिकरुपमा नेपाललाई नो गो डेस्टिनेसनका रूपमा राख्न थालियो ।

यसले नेपालको पर्यटनकै भविष्य धूमिल हुँदै गएपछि सरकारले नै तत्कालीन सहसचिव घनश्याम उपाध्यायको नेतृत्वमा छानबिन समिति बनायो । २०७५ सालमा बनेको उक्त समितिले पनि आफ्नो प्रतिवेदनमा फेक रेस्क्युबारे थप अनुसन्धानका लागि प्रहरीको विशिष्टीकृत इकाईलाई पत्राचार गर्ने उल्लेख गर्‍यो । त्यससँगै फेक रेस्क्यु रोक्न ‘पर्यटक खोज, उद्धार, उपचार तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७५’ आयो र लागूसमेत गरियो ।

तर पनि फेक रेस्क्युमा खासै कमी आउन सकेन । यहीबीचमा कोभिड १९ आएपछि नेपालको पर्यटन गतिविधि ठप्पप्रायः नै भयो । त्यसपछि फेरि बिस्तारै तंग्रन थालेको पर्यटन व्यवसायमा सन् २०२२ बाट फेरि फेक रेस्क्युको धन्दा सुरु भयो ।

सन् २०२२ र २०२३ मा झनै बढी रेस्क्यु गरिए र करोडौं डलरको बीमा दाबी भयो । नेपालमा भएका उद्धारमध्ये २५ प्रतिशतभन्दा बढी उद्धार नक्कली अर्थात् फेक रहेको तथ्य बाहिर आएपछि नेपालको पर्यटन क्षेत्रलाई नै नराम्रो असर गर्‍यो । त्यसलगत्तै केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले यसलाई थप छानबिनमा तान्यो ।

सीआईबीले पुरानो र नयाँ फाइल तानेर फेक रेस्क्युबारे अनुसन्धान सुरु गरेपनि त्यतिबेला मुद्दा चलेन । त्यतिबेला केही व्यक्तिहरूलाई बोलाएर सोधपुछ गरिए पनि सीआईबीले अग्रसरता देखाएन ।

यहीबीचमा पर्यटन व्यवसायीहरूले नै गत वर्षको असोज र पुस महिनामा सीआईबीमा दुईवटा उजुरी दिए । फेक रेस्क्युका केही प्रमाणसहित यसले पर्यटन व्यवसाय धराशायी बनेको भन्दै उजुरी दिएका थिए । सोही फाइलको पनि सीआईबीले अध्ययन गरिरहेको थियो ।

यहीबीचमा मनोजकुमार केसी सीआईबीको प्रमुख बनेर आएपछि उनले केही मुद्दाहरूमा आक्रामकरुपले अनुसन्धानलाई अगाडि बढाए । यही क्रममा विगत साढे दुई महिनादेखि फेक रेस्क्युसम्बन्धी फाइल खोलेर बृहत् अनुसन्धान सुरु गर्‍यो ।
प्रारम्भिक अनुसन्धानमै कैफियत भेटिएपछि सीआईबीले थप अनुसन्धान गर्दा चार्टर फ्लाइटबाट ल्याइएका पर्यटकलाई पनि रेस्क्यु भनेर बिल बनाइएको, एउटै फ्लाइटमा ४ जनासम्म हालेर ल्याइएको र उनीहरूलाई फरक फरक स्थानबाट एक एक जना गरी ल्याइएको लगायतका बिल बनाएको पाइयो । त्यति मात्रै होइन, लुक्लाबाट चार्टर उडानमार्फत ल्याइएका पर्यटकलाई समेत गोक्योबाट ल्याइएको बिल बनाइयो ।

पहिलो चरणकै अनुसन्धानमा कैफियत पाएपछि सीआईबीले विदेशस्थित बीमा कम्पनी, नेपालका अस्पताल, नागरिक उड्डयन प्राधिकरण, लुक्ला विमानस्थल र रेस्क्यु कम्पनीका कागजातको बृहत् अनुसन्धान सुरुगर्‍यो । साथै विदेशबाट भएका भुक्तानीहरूको करिब एक हजार स्विफ्ट कोडको समेत अनुसन्धान गर्‍यो ।

सीआईबीको विस्तृत अनुसन्धानले विदेशी पर्यटकको ज्यान बचाउने पवित्र कार्यलाई नै बीमा ठगीको हतियार बनाइएको पाइयो । यही प्रकरणमा जोडिएका तीन रेस्क्यु कम्पनीका सञ्चालक तथा अपरेसन म्यानेजरलगायतलाई पक्राउ गरियो ।

सीआईबीले आइतबार मात्रै फेक रेस्क्युमा संलग्नताको केही प्रमाणसहित माउन्टेन रेस्क्यु सर्भिसका सञ्चालक जयराम रिमाल र म्यानेजर विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका सञ्चालक रवीन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेकराज थपलिया तथा एभरेस्ट एक्सपेरियन्स एन्ड एसिस्टेन्सका सञ्चालक मुक्ति पाण्डे र म्यानेजर सुभाष केसीलाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिहरू सबै पर्यटक उद्धार र एयर चार्टर सेवासँग जोडिएका कम्पनीका सञ्चालक तथा कर्मचारी हुन् । उनीहरूले आफ्नो पेसागत जिम्मेवारीको दुरुपयोग गरी विदेशी पर्यटकलाई निशाना बनाएर बीमा ठगी गरेको प्रारम्भिक आरोप छ ।

कहिलेबाट कसरी सुरु भयो विस्तृत अनुसन्धान ?
गत वर्षको असोज १२ र पुस १ गते सीआईबीमा परेका दुई उजुरीले फेक रेस्क्युको नयाँ अनुसन्धानको सुरुवात भयो । सन् २०१७ देखि २०१९ सम्म भएका रेस्क्युका यथेष्ट कागजात र प्रमाणहरू नभेटिए पनि सन् २०२२ पछिका घटनाका अधिकांश कागजात, इन्सुरेन्स दाबी, अस्पतालको बासलगायतका विवरण सीआईबीले संकलन गरिरहेको छ । विदेशी पर्यटकहरूको अप्रत्याशित रूपमा बढेको रेस्क्यु दर र बीमा दाबीले नेपालको पर्यटन क्षेत्रमा क्षति पुराउन थालेपछि सीआईबीलाई अनुसन्धानका लागि दबाब बढेको थियो । त्यसपछि विगत साढे दुई महिनादेखि चलेको गोप्य अनुसन्धानपछि सीआईबीले आइतबार ६ जनालाई पक्राउ गरी कानुनी कारबाहीको औपचारिक सुरुवात गरेको छ ।

सीआईबीका प्रमुख एआईजी डा. मनोजकुमार केसीका अनुसार तीनवटा कम्पनी (माउन्टेन रेस्क्यु सर्भिस, नेपाल चार्टर सर्भिस र एभरेस्ट एक्सपेरियन्स एन्ड एसिस्टेन्स)ले गरेका कैयन् रेस्क्युहरु नक्कली मात्रै छैनन्, दोहोरिएका छन् र त्यसबाट उनीहरूले करोडौं रकम इन्सुरेन्स दाबी गरी लिएका छन् ।

कुन कम्पनीले कति रेस्क्यु गराए, कति शंकास्पद ?
सीआईबीले सार्वजनिक गरेको तथ्यांकअनुसार यी तीन कम्पनीले २६ अर्ब रुपैयाँभन्दा बढी रकमको बीमा दाबी गरेका छन् । केही दाबी इन्सुरेन्स कम्पनीले रिजेक्ट गरे पनि अधिकांश दाबी उनीहरूले प्राप्त गरेका छन् । यी तीन कम्पनीले कुल २ हजार ३ सय २० जना पर्यटकको ‘रेस्क्यु’ गराउँदा कम्तीमा ३ सय १७ जनाको रेस्क्यु शंकास्पद देखिएको छ र ती रेस्क्यु फेक हुन सक्ने देखिएको छ ।

यस्तो छ यी तीन कम्पनीको रेस्क्युको विवरण :
१. माउन्टेन रेस्क्यु सर्भिस

कुल रेस्क्यु गरेको : १,२४८ जना
शंकास्पद (फेक) रेस्क्यु : १७१ जना
बीमा दाबी गरेको रकम : १ करोड ३ लाख १० हजार २७६.७५ अमेरिकी डलर
नेपाली रुपैयाँ : १,५१,९८,३७,८९५

२. नेपाल चार्टर सर्भिस
कुल रेस्क्यु गरेको : ४७१ जना
शंकास्पद (फेक) रेस्क्यु : ७५ जना
बीमा दाबी गरेको रकम : ८२ लाख ३४ हजार ८२.९९ डलर
नेपाली रुपैयाँ : १,२१,३७,८६,१७३

३. एभरेस्ट एक्सपेरियन्स एन्ड एसिस्टेन्स
कुल रेस्क्यु गरेको : ६०१ जना
शंकास्पद (फेक) रेस्क्यु : ७१ जना
बीमा दाबी गरेको रकम : ११ लाख ५३ हजार ९१९.३३ डलर
नेपाली रुपैयाँ : १७,००,९९,२४८

कुल शंकास्पद रेस्क्यु : ३१७ जना
कुल बीमा दाबी : लगभग १९.६९ मिलियन डलर (२ अर्ब ९० करोड २५ लाख नेपाली रुपैयाँभन्दा बढी)

संगठितरुपमै ठगी, ट्रेकिङ गाइडदेखि ट्रेकिङ कम्पनी, रेस्क्यु कम्पनी, हेलिकोप्टर कम्पनी र अस्पतालकै मिलेमतो

सीआईबीको अनुसन्धानले फेक रेस्क्युको ठगीमा ट्रेकिङ गाइडदेखि ट्रेकिङ एजेन्सी, रेस्क्यु कम्पनी, हेलिकोप्टर कम्पनी र अस्पतालको समेत मिलेमतो पाइएको जनाएको छ । कतिपय घटनामा विदेशी पर्यटककै समेत संलग्नता रहेकोसमेत देखिएको एक अनुसन्धान अधिकृतले लोकपथलाई बताए ।

फेक रेस्क्यु घटना एउटा सामान्य ठगी मात्रै नभएर संगठित सिन्डिकेटको रूपमा काम गरिएको सीआईबीको दाबी छ । यसमा पर्यटकको मनोविज्ञान, बीमा प्रक्रिया र नेपालको पर्वतीय पर्यटनको ज्ञानको दुरुपयोग गरी योजना नै बनाएर ठगी गरिएको थियो । ठगी गर्नका लागि लागतभन्दा पनि सस्तोमा ट्रेकिङ जाने व्यवस्था गरिदिने र त्यसको बदलामा फेक रेस्क्यु गर्ने गरिएको समेत पाइएको छ ।

फेक रेस्क्युका लागि चरणबद्ध योजना

पहिलो चरण : लक्षित पर्यटकको छनोट
रेस्क्यु कम्पनीहरूले ठमेललगायतका क्षेत्रमा रहेका ट्रेकिङ कम्पनीहरूसँग पहिले नै समन्वय गरी पर्यटकको बीमाको जानकारी लिन लगाउँथे । नेपालमा हाई अल्टिच्युडको सम्भावना पनि रहने र रिस्की हुन सक्ने भन्दै बीमा गर्न ट्रेकिङ गर्न आउनेहरूलाई पूर्वजानकारी गराइन्थ्यो । अनि बीमाको प्रमाण पेस गर्न लगाइन्थ्यो । कुन पर्यटकको बीमामा उच्च उचाइ रेस्क्यु कभरेज छ, कसको इन्स्युरेन्स कम्पनीले सजिलै दाबी स्वीकार गर्छन् ती सबै तथ्यांक यी सिन्डिकेटधारीले पहिले नै जानकारी लिएर राख्ने गर्दथे ।

दोस्रो चरण : सामान्य बिरामीलाई जटिल देखाइन्थ्यो

पर्वतीय पर्यटन भन्नेबित्तिकै हिमाली भूभागमै जाने हुन्छ । एकैपटक उष्ण स्थानबाट हिमाली भूभागमा जाँदा लेक लाग्नु सामान्य नै हो । यसको केही चरणलाई सामान्य उपचार गर्दा पनि ठीक हुन्छ । तर यी सिन्डिकेटधारीले उच्च हिमाली क्षेत्रमा पुगेपछि हुने सामान्य लक्षणलाई नै गम्भीर जस्तो बनाइदिन्थे । अक्सिजनको कमीले हुने साधारण असजिलो अर्थात् एक्युट माउन्टेन सिकनेस वा एएमएसलाई उनीहरूले ज्यान नै जानसक्नेसम्मको अवस्था भनी जानकारी गराइदिन्थे । त्यसपछि पर्यटकलाई भ्रम र डरमा पारी हेलिकोप्टरमा रेस्क्यु गर्न बाध्य बनाउँथे र उनीहरूले पर्यटकलाई कन्भिन्स गरी रेस्क्युका नाममा हेलिकोप्टर चढाइन्थ्यो ।
सीआईबीका प्रवक्ता डा. मनोज केसीले पत्रकार सम्मेलनमा भने, ‘सामान्य एएमएस लागेको पर्यटक उचाइबाट केही तल झरेपछि आफै निको हुने कुरा लुकाइन्छ । अनि रेस्क्यु भन्दै जबरजस्ती हेलिकोप्टर चढाएर तल ल्याइन्छ र रेस्क्यु कम्पनी र अस्पतालले फरक-फरक वा एकमुष्ट रूपमा इन्स्युरेन्स कम्पनीसँग बीमाको रकम दाबी गर्ने गरेको हाम्रो अनुसन्धानमा देखिएको छ ।’

तेस्रो चरण : नक्कली बिल र कागजातको बनावट

फेक वा अनावश्यक रेस्क्यु गरिसकेपछि बीमा कम्पनीबाट रकम प्राप्त गर्न रेस्क्यु कम्पनी, हेलिकोप्टर कम्पनी र अस्पतालको मिलेमतो हुने गरेको पाइएको छ । उनीहरूले एउटै हेलिकोप्टरबाट तीन जनालाई उद्धार गरे तापनि बीमा दाबी भने फरक फरक हेलिकोप्टरबाट गरेको भनी बनाउने गरेको पाइएको छ । यतिसम्म पाइएको छ कि लुक्लाबाट चार्टर उडान गरेर एकैपटक तीन जना पर्यटकलाई काठमाडौं ल्याइँदा पनि बिल बनाउँदा भने फरक फरक हेलिकोप्टरबाट उद्धार गरिएको र फरक फरक स्थानबाट उद्धार गरिएको भन्दै कागजात बनाइएको छ ।

अनुसन्धानमा यतिसम्म खुल्यो कि एउटै हेलिकोप्टर र सोही हेलिकोप्टरमा रहेका पाइलट बिहान १० बजे काठमाडौंबाट उडेर दिउँसो २ बजे आइपुगेको एउटा बिल बनाइएको छ भने सोही दिनको अर्को बिलमा त्यही हेलिकोप्टर र त्यही पाइलटले उडाएको समय बिहान ११ बजे काठमाडौंबाट र दिउँसो २ बजे लुक्लाबाट उडेको देखाइएको छ । मतलब ‘सिंगल फ्लाइट, मल्टिपल बिलिङ’को धाँधली गरिएको छ । सीआईबीले लुक्ला विमानस्थल र नागरिक उड्डयन प्राधिकरणबाट तथ्यांक लिँदा उक्त हेलिकोप्टर उक्त दिन एकपटक मात्रै उडेको र ३ जना पर्यटक र अर्का एकजना नेपालीलाई लिएर आएको पाइएको छ ।

चौथो चरण : चार्टर फ्लाइटलाई रेस्क्यु देखाएर बीमा दाबी

यी सिन्डिकेटधारीले यतिसम्म गरेको पाइएको छ कि नियमित उडान नभएर लुक्लाबाट चार्टर उडान गरेर यात्रुलाई काठमाडौं ल्याइँदासमेत रेस्क्यु उडान भनी बिल बनाइएको छ । साथै समूहमा पर्यटकलाई ल्याउँदा एक्लै आएको बनाइएको छ ।
पदयात्रा सकिएपछि ‘अब किन हिँड्नु, तिमीले पैसा तिर्नुपर्दैन बीमा कम्पनीसँग हामी नै लिन्छौँ’ भन्दै पर्यटकलाई फकाएर चार्टर फ्लाइटमा काठमाडौं ल्याएको अवस्था पनि देखिएको छ । तर पछि त्यसलाई पनि ‘रेस्क्यु’ को रूपमा बिल पेस गरी बीमा दाबी गरी भुक्तानीसमेत लिइएको छ ।

फेक रेस्क्युलाई ठगीमा मात्रै नलगी संगठित अपराध र राष्ट्रहितविरुद्धको कसुरमा मुद्दा चलाउने तयारी
सीआईबीले आइतबार पत्रकार सम्मेलनमार्फत यो घटनालाई केवल ठगीका रूपमा मात्रै हेर्न नहुने बताएको छ । यो घटना ठगी, लिखत कीर्ते, राष्ट्रविरुद्धको कसुर, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसँग पनि सम्बन्धित रहेको भन्दै सोहीअनुसार अनुसन्धान र अभियोजनका लागि रायसहितको प्रतिवेदन दिने सीआईबीको तयारी छ ।

बीमा कम्पनीहरूले रोके नेपाल आउनेको इन्सुरेन्स
फेक रेस्क्युका घटना अत्यधिक बढेसँगै विदेशी बीमा कम्पनीहरूमा पनि ठूलो हलचल ल्यायो । नक्कली उद्धारका कारण खर्च बढेपछि पर्यटकको बीमा गर्ने कम्पनीहरूले नेपाली जाने पर्यटकको प्रिमियम दोब्बर मात्रै बनाएनन्, पछिल्लो समय केही बीमा कम्पनीहरूले पोलिसी बेच्न नै बन्द गरिदिएका छन् । सीआईबीका अनुसार विदेशमा रकेका चल्तीमा ७ बीमा कम्पनीमध्ये कम्तीमा तीनवटा अन्तर्राष्ट्रिय बीमा कम्पनीले नेपाल आउने पर्यटकको बीमा नै नगर्ने गरी रोकिदिएका छन् ।

फाइल खुल्यो, अब सबै आउँछन्, : एआईजी केसी
सीआईबीले फेक रेस्क्युका घटनामा संलग्नहरूमध्ये पहिलो चरणमा रेस्क्यु कम्पनीका सञ्चालक र कर्मचारीलाई नियन्त्रणमा लिएको छ । तीन कम्पनीका ६ जनालाई पक्राउ गरी कानुनी कारबाहीको औपचारिक थालनी गरेको सीआईबीले अब बिस्तारै ट्रेकिङ गाइडदेखि ट्रेकिङ कम्पनी, हेलिकोप्टर कम्पनी र अस्पतालका सञ्चालक तथा कर्मचारीलाई समेत नियन्त्रणमा लिने तयारी गरेको छ ।

एकै रेस्क्युको ३२ हजार डलरसम्मको बिल ?
सामान्यतः काठमाडौंबाट लुक्ला वा वरिपरिका उडान गर्दा एकपटकमा २ हजारदेखि २ हजार ५ सय डलरसम्मको बिल उठ्छ । एभरेस्ट बेस क्याम्पसम्मको उडान गर्ने हो र खराब मौसम तथा हेलिकोप्टरको उपलब्धता कम छ भने ४ हजार डलरसम्म लिने गरिएको छ । यो नियमित उडानको भाडा वा चार्ज हो ।

तर रेस्क्यु कम्पनीमार्फत उडान गर्दा एउटै उडानको बिल ३२ हजार डलर अर्थात् आजको मूल्यमा ४७ लाख १७ हजार रुपैयाँसम्मको बिल तयार पारिएको पाइएको छ । तीन वा चार जना पर्यटकलाई सँगै ल्याउँदा फरक फरक उडान देखाएर एउटै उडानको बिल नै ३२ हजार अमेरिकी डलरसम्म देखाएको पाइएको सीआईबीका प्रवक्ता डा. मनोजकुमार केसीले बताए ।

अनुसन्धान चयनमुखी हुँदैन, प्रमाण पुगेका सबै नियन्त्रणमा आउँछन्
आइतबार प्रहरीले पक्राउ गरेका रेस्क्यु कम्पनीका सञ्चालकहरूमध्ये फेक रेस्क्युमा पहिलेदेखि नै जोडिएका मुक्ति पाण्डे मात्रै रहेका छन् । यसअघि फेक रेस्क्युसँग जोडिएका अन्य चर्चित व्यक्तिहरू भने पक्राउ नपरेपछि पत्रकारले अनुसन्धान चयनमुखी त हुँदैन नि भनी सोधेका थिए । त्यसको जवाफमा एआईजी डा. केसीले भने, ‘अनुसन्धान चयनमुखी हुनै सक्दैन र चयनमुखी भयो भने त्यो अनुसन्धान नै हुँदैन । प्रमाण पुगेका सबै आउँछन् र हामी गहिराइमै पुगेर खोतल्ने छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?