निष्पक्ष निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री अर्याल

लोकपथ
28
Shares
फाइल तस्बिर

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले अन्तरिम सरकार निष्पक्ष र तटस्थ भएर आगामी निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध रहेको बताएका छन् ।

मंगलबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले कसैको पक्षधरता नलिने स्पष्ट पारे ।

संवैधानिक व्यवस्थाअनुसार संसद विघटन भएको ६ महिनाभित्र निर्वाचन गराउनुपर्ने दायित्व रहेकाले सरकार सोही मार्गमा अघि बढेको गृहमन्त्री अर्यालले जानकारी दिए । उनले सबै सरोकारवालाको विश्वास जित्दै निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने सरकारको लक्ष्य रहेको बताए ।

फागुन २१ गते तोकिएको निर्वाचन मिति कुनै हालतमा नसर्ने उनको भनाइ छ । यद्यपि हिमपातलगायत आकस्मिक कारण उत्पन्न भएमा केही स्थानमा निर्वाचन स्थगित हुन सक्ने उनले बताए । विगतमा पनि यस्ता स्थगन हुने गरेको उल्लेख गर्दै यसलाई ठुलो समस्या ठान्न नहुने उनले स्पष्ट पारे ।

गृहमन्त्री अर्यालले भने, ‘यो सरकार चुनावी सरकार हो । चुनावी सरकार निष्पक्ष र तटस्थ हुनुपर्छ । निष्पक्षताको प्रत्याभूति हामी दिलाउँछौँ । हामी कुनै राजनीतिक पक्षको होइन, केवल सुशासनको पक्षधर हौँ ।’

उनले हाल प्रहरीको मनोबल उच्च रहेको र सुरक्षा व्यवस्थामा कुनै समस्या नरहेको पनि जानकारी दिए । देश निर्वाचनको माहोलतर्फ अघि बढिरहेको भन्दै शान्तिपूर्ण र सुरक्षित चुनावका लागि सम्पूर्ण तयारी भइरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?