काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आफू जनताको मुद्दा बोकेर हिँडेको दाबी गर्दै आफूमाथि लागेका मुद्दाको कुनै प्रवाह नभएको टिप्पणी गरेका छन् ।
सोमबार जनकपुरधाममा आयोजित पार्टीको जनसभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो टिप्पणी गरेका हुन् ।
उनले गत निर्वाचनमा चितवनबाट अत्यधिक मतसहित निर्वाचित भए पनि षड्यन्त्रपूर्वक संसदबाट बाहिरिनुपरेको दाबी गरे ।
उनले आसन्न निर्वाचनबाट रास्वपाले सबैभन्दा धेरै मत ल्याएर संसदमा प्रवेश गर्ने दाबी गर्दै उनले जनताको समर्थन नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको बताउँदै पार्टीले परिवर्तनका लागि संघर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने, ‘जब चितवनका जनताले मलाई अत्यधिक भोट दिएर मलाई पठाएका थिए । छलछाम गरेर मलाई संसदबाट निकालियो । हिजो सबैभन्दा धेरै भोट ल्याउने सांसद भएको थिएँ । अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसदमा जानेछौँ । मेरो टाउकोमा लागेका मुद्दाहरुको कारण प्रत्येक दिन देशको कुनै न कुनै अदालतमा मैले उपस्थित हुनुपर्छ । मलाई प्रवाह छैन । जनताको मुद्दा बोकेर हिँडेको मान्छे लड्दै गरौँला, जित्दै गरौँला, हारे हारिन्छ, जिते जितिन्छ ।’
उनले पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह र आफूबीच पाँच मिनेटमै एकताको टुंगो लागेको दाबी पनि गरे ।
उनले सबैलाई वर्ग र समूदायका समस्याको सम्बोधन गर्न आफूहरु प्रतिबद्ध रहेको भन्दै आउँदो चुनावमा बहुमतले जिताइदिन मधेशवादीलाई आग्रह पनि गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया