जनकपुरमा बालेनको मैथलीमा भाषण– ‘मेयर हुँदा त्यत्रो गरेँ, प्रधानमन्त्री भएपछि झन के गरौँला !’

लोकपथ
224
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले जनकपुरको सभामा मैथिलीमा भाषण गरेका छन् ।

रास्वपाको तर्फबाट पहिलो चुनावी सभामा सहभागी भएका बालेनले जनकपुरमा मैथिलीमा भाषण गरेका हुन् ।

सभालाई सम्बोधन गर्दै बालेनले आफू कुरा भन्दा काम गर्ने मान्छे भएको दाबी गरे ।

चुनावी सभालाई सम्बोधन गर्दै बालेनले भने, ‘म काम गर्ने मान्छे हुँ, भाषण होइन । काम गरेको हेर्न चाहनुहुन्छ ?।’

उनले आफूलाई काठमाडौंका जनताले काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित गरेपछि काम गरेर देखाएको चर्चा गर्दै उनले भने, ‘काठमाडौंबासीले मेरो काम देखिसकेका छन् । अब यहाँहरू पनि मेरो काम हेर्न चाहनुहुन्छ ?’

बालेनले आफू ४ वर्षसम्म काठमाडौं महानगरपालिकाको मेयर हुँदा पनि जनताका समस्या समाधान गर्न नसकेर मुकदर्शक बन्नुपरेको बताएका छन् ।

उनले माइतीघर मण्डलामा उखु किसानदेखि मिटरब्याज पीडितसम्मको आन्दोलन हुँदा पनि मुकदर्शक बनेर बस्नुपरेको बताए ।

‘म करिब ४ वर्ष काठमाडौंको मेयरको रुपमा बसेँ । कोही मान्छेको भेट पनि गरिनँ । दैनिक माइतीघरमा मण्डलामा उखु किसानको आन्दोलन भयो, मिटरब्याज पीडितको आन्दोलन भयो । हामी मुकदर्शक भएर बस्नुपरेको थियो,’ बालेनले भने ।

साथै, उनले काठमाडौंको मेयरको रुपमा त्यतिबेला केही गर्न नसकेको स्वीकार गरे ।

काठमाडौंको मेयरका रुपमा देशभरका ३५ पालिकामा एम्बुलेन्स पुर्‍याएको बताउँदै प्रधानमन्त्री हुँदा के के गर्न सकौंला ? भन्दै प्रश्न गरे ।

‘काठमाडौंको मेयरको रुपमा केही गर्न सकिएन । अब गरेर देखाउँछु । काठमाडौंमा रहेर ३५ पालिकाको एम्बुलेन्स बनाउन सकेँ, संघ सरकारमा गएँ भने कति सकौंला ?,’ बालेनले भने ।

बालेनलाई रास्वपाले झापा क्षेत्र नं ५ को उम्मेदवार समेत बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?