काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका डा. अमरेश कुमार सिंहले बालेन्द्र शाह ‘बालेन’ आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने ठोकुवा गरेका छन् ।
जनकपुरमा रास्वपाले गरेको चुनावी प्रचारप्रसार कार्यक्रममा बोल्दै अमरेशले बालेन प्रधानमन्त्री नभए आफू आत्मदाह गर्ने समेत दाबी गरे ।
उनले सीता नेपालकै धर्तीमा समाहित भएको स्मरण गराउँदै बालेन प्रधानमन्त्री नबनेमा जनकपुरको माटोमा समाहित हुने जिकिर गरे ।
‘हामी सीता माताका सन्तान हौं । सीमा माता यही धर्तीमा समाहित भएकी थिइन् । बालेन प्रधानमन्त्री भएनन् भने म जनकपुरको धर्तीमा समाहित हुनेछु । ‘बालेन प्रधानमन्त्री बनेनन् भने म जनकपुरको रणभूमिमा आत्मदाह गर्नेछु,’ उनले भने ।
उनले बालेन मधेशी पुत्र रहेको भन्दै मधेशले पहिलोपटक प्रधानमन्त्री पाउने समेत विश्वास गरे । उनले मधेशबाट देशको प्रधानमन्त्री बनाउन भए पनि रास्वपालाई मत दिन आग्रह गरे ।
‘म हात जोडेर भन्छु, मसँग केही छैन । केवल आग्रह गर्छु, तपाईंहरूसँग गम्छामा भिख माग्छु, मधेशलाई प्रधानमन्त्री देऊ,’ जनकपुरमा आक्रामक भाषण गर्दै अमरेशले भने ।
त्यसो त यसअघिको निर्वाचनमा स्वतन्त्रबाट सांसद बनेका अमरेश केही समयदेखि रास्वपासँग सहकार्यमा आएका हुन् ।
यसअघि बालेन काठमाडौं महानगरको प्रमुख रहँदा बालेनले कवाड व्यवसायीहरुलाई गरिखान नदिएको भन्दै कटाक्ष गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया