काठमाडौं । नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीले पार्टीको विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको टिमलाई बधाई दिएका छन् ।
डा. शेखर कोइराला निकट रहेका सभापति अधिकारीले बधाई दिँदै निर्वाचनमा लाग्न आग्रह गरेका हुन् ।
पूर्वमन्त्री समेत रहेका अधिकारीले नेपाली कांग्रेस धादिङले पार्टीको विशेष महाधिवेशन तथा पार्टी सुधार र रूपान्तरणका क्रममा चलेका बहस तथा गतिविधिहरूलाई विचार–मन्थनको स्वाभाविक अभ्यासका रूपमा ग्रहण गर्दै त्यसबाट परिपक्व परिणाम निस्किएको विश्वास व्यक्त गरे ।
अधिकारीले जारी गरेको विज्ञप्तिमा नेपाली कांग्रेस नेपालको लोकतन्त्र, जनअधिकार, नागरिक स्वतन्त्रता, संवैधानिक सर्वोच्चता, विधिको शासन र उदार अर्थनीतिको संस्थापक तथा संरक्षक पार्टी भएको उल्लेख गरिएको छ ।
लोकतान्त्रिक राष्ट्रशक्तिको रूपमा कांग्रेसले आफूलाई जनभावनाअनुकूल विधिसम्मत र समयानुकूल रूपान्तरण गर्दै देश र जनताको हितमा समर्पित हुनुपर्ने दायित्व रहेको विज्ञप्तिमा जनाइएको छ ।
त्यस्तै उनले पार्टीका धादिङका क्रियाशील सदस्य, क्षेत्रीय प्रतिनिधि, पार्टी तथा भातृ–शुभेच्छुक संस्थाका इकाइ, टोल तथा वडा कार्यसमिति, गाउँ–नगर कार्यसमिति, प्रदेश र जिल्ला तहका पदाधिकारी, महाधिवेशन प्रतिनिधि तथा प्रदेश अधिवेशन प्रतिनिधिहरूलाई एकताबद्ध भएर पार्टी संगठन विस्तार, सुदृढीकरण र सक्रियताका साथ अगाडि बढ्न आह्वान गरिएको छ ।
साथै आगामी फागुन २९ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टी र पार्टीले तय गर्ने उम्मेदवारको पक्षमा जनताको बीचमा केन्द्रित हुन जिल्ला कार्यसमितिले अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया