ओलीले फेरे महाधिवेशनको रिस : ईश्वर पोखरेल पक्षबाट उठेका अधिकांशलाई टिकट नै दिएनन्

लोकपथ
896
Shares

काठमाडौं । नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अधिकांश क्षेत्रमा उम्मेदवार टुंगो लगाउँदा पार्टीका प्रभावशाली तथा हेभीवेट नेताहरूलाई टिकट दिन भने कन्जुस्याइँ गरिएको छ । 

पार्टीको हालै सम्पन्न ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेताहरूलाई टिकट दिन कन्जुस्याइँ गरिएको हो । टिकट नपाउनेमा ईश्वर पोखरेलसहित सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकुल बास्कोटा, ठाकुर गैरे, कर्ण थापा, ऐन महर, झपट रावल, नारदमुनि राना, कृष्णगोपाल श्रेष्ठ, विनोद खतिवडा, छविलाल विश्वकर्मा, नीरज आचार्य, विष्णु रिजाल र उषाकिरण तिम्सेनासहित रहेका छन् । 

महाधिवेशनमा पाण्डे ईश्वर समूहबाट महासचिवको उम्मेदवार बनेर पराजित भएका थिए । योगेश भट्टराई भने उपमहासचिवमा विजयी बनेका थिए । उनी उपमहासचिवमा विजयी बन्दा ओली समूहबाट उपमहासचिवको उम्मेदवार बनेका विष्णु रिमाल भने पराजित भएका थिए । यस्तै, गोकुल बास्कोटा र कृष्णगोपाल श्रेष्ठ सचिवमा पराजित बनेका थिए ।

ईश्वर समूहबाट महाधिवेशनमा उम्मेदवारी दिएका नेताहरूलाई छानी छानी टिकट नदिएपछि उनीहरूले चर्को असन्तुष्टि जनाइरहेका छन् । 

एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीले गरेको निर्णय सुनेर विचलित नहुन आग्रह गरेका छन् । भट्टराईले नेकपा एमालेका नेता कार्यकर्ताहरूलाई सम्बोधन गर्दै एकताबद्ध हुन र पार्टीको उम्मेदवारलाई विजयी गराउन समेत आह्वान गरेका छन् ।

‘निर्णय सुनेर विचलित नहुन अनुरोध गर्दछु । अझ उच्च मनोबल र एकताका साथ नेकपा एमालेका उम्मेदवारहरूलाई विजयी बनाउन आफ्नो ठाउँ र हैसियतबाट सक्रिय रहन आह्वान गर्दछु । हाम्रो यात्रा लामो र गौरवपूर्ण छ’ उनले लेखेका छन् ।

ताप्लेजुङबाट भट्टराई निर्वाचन लड्दै आइरहेका छन् । हिजोको बैठकले त्यो क्षेत्रमा भट्टराईको नाम उल्लेख गरेको छैन । अध्यक्ष ओलीले टुंग्याउने भन्दै खाली छाडिएको छ ।ं

यस्तै, नेकपा एमालेका नेता विष्णु रिजालले पनि प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फबाट टिकट नपाएपछि चर्को असन्तुष्टि जनाएका छन् । कार्यकर्ताको रोजाइमा आफू पहिलो भए पनि तेस्रो पटकसमेत नेतृत्वको रोजाइमा पर्न नसकेको उनको गुनासो छ । 

उनी दैलेख–२ बाट नेकपा (एमाले)का कार्यकर्ताको रोजाइमा मतदानबाट पहिलो नम्बरमा सिफारिस भएका थिए । जिल्ला र प्रदेश कमिटीले पनि उनलाई पहिलो नम्बरमै सिफारिस गरेको थियो । तर, उनी तेस्रो पटक पनि नेतृत्वको रोजाइमा पर्न सकेनन् । 

उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘कार्यकर्ताको रोजाइमा पहिलो भए पनि तेस्रो पटकसमेत नेतृत्वको रोजाइमा पर्न सकिनँ ।’

उनले आफ्नो ठाउँमा टिकट पाएका नेतालाई कटाक्षपूर्ण ढंगले भनेका छन्, ‘आफू सात वर्षको हुँदा २०४३ सालमा प्रधानपञ्चबाट निर्वाचन लड्न थालेका अनुभवी लक्ष्मीप्रसाद पोखरेलले फेरि टिकट पाएका छन्, पार्टीको आन्तरिक निर्वाचनमा आफ्नै क्षेत्रका अगुवा कार्यकर्ताको पहिलो रोजाइमा नपरे पनि, हालै सम्पन्न पार्टीको महाधिवेशनमा भारी मतका साथ पराजित भए पनि नेतृत्वको रोजाइमा पर्न सक्ने लक्ष्मीजीको अद्भूत क्षमताको प्रशंसा नगरी रहन सकिँदैन ।’

उनले आफू स्वेच्छाले राजनीतिमा लागेको र दैलेखी जनता, देश र पार्टीलाई सकेको योगदान गर्नमा कुनै कसर बाँकी नराख्ने पनि बताएका छन् । उनले भनेका छन्, ‘म मैदानमै छु, मैदानमै हुनेछु । २९ वर्षअघि २०५३ सालमा अखिलको जिल्ला अध्यक्ष भएयताको मात्रै अवधि गणना  गर्दा पनि २९ वर्ष भएछ । कुनै पद पाइएन भने पनि अर्को २९ वर्ष कम्तीमा यही क्षेत्रमा रहनेछु ।’ 

उनले भनेका छन्, ‘कसैसँग मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी हो भने यसमा भन्नु केही छैन । राजनीतिमा अगाडिबाट प्रतिस्पर्धा गर्न नसकेपछि व्यक्तिगत प्रतिष्ठामाथि आक्रमण गर्ने कायरहरूप्रति जति घृणा गरे पनि कमै हुन्छ ।’ उनले आफ्ना पक्षमा लाग्नेहरूलाई धन्यवाद र टिकट पाउन नसकेकामा निराश नहुन भन्दै क्षमा मागेका छन् ।

उनले आफू आजका दिनसम्म पनि कहिल्यै फुट र विभाजनका पक्षमा नलागेको बताउँदै भनेका छन्, ‘विगतमा पार्टी विभाजनमा लागेर, उम्मेदवार बनेर धरौटी जफत भएर, एमालेलाई हराएर फेरि एमालेमै फर्किन बाध्य भएकाहरूले आफू मात्रै पार्टी बनाउन लागेको रूपमा प्रस्तुत गर्नु हास्यास्पद छ ।’

यस्तै ठाकुर गैरेलाई उम्मेदवार नबनाएकोमा नेतृ उषाकिरण तिम्सेनाले रोष प्रकट गरेकी छिन् । उनले लेखेकी छिन्, ‘ठाकुर गैरेको पाप लाग्छ है विष्णु कमरेड । (म पाप र धर्ममा विश्वास गर्दिनँ ।)’

पाल्पा–२ मा यसअघि २०७९ को निर्वाचनमा ठाकुर गैरेले निर्वाचन जितेका थिए । यसपटक उनको पनि नाम सिफारिस भएको थियो । तर पार्टीले उपाध्यक्ष विष्णु पौडेलको नाम टुंगो लगाएपछि नेतृ उषाकिरण तिम्सेनाले रोष प्रकट गरेकी हुन् ।  पाल्पाबाट विष्णु पौडेलले २०५१ सालमा निर्वाचन जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?