काठमाडौं । अन्तरिम सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सरकार, निजी क्षेत्र र नागरिकको सहकार्यबाट नेपालको ऊर्जा क्षेत्रलाई समृद्धिको आधार बनाउन सकिने बताएका छन् ।
२६औँ इप्पान दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री सिन्हाले नेपालको जल भण्डारको बहु आयामिक उपयोग र स्वच्छ उर्जामार्फत समृद्धि हासिल गर्न ठुलो सम्भावना रहेको बताए । उनले जलविद्युतलाई प्राथमिकतामा राख्दै सौर्य तथा अन्य नवीकरणीय उर्जामा पनि जोड दिनुपर्ने बताए ।
सिन्हाले कानुनसम्बन्धी समस्याप्रति व्यवसायीहरूको गुनासो रहेको स्वीकार गर्दै, विगत १५–२० वर्षदेखि आवश्यक परिमार्जन र अन्तरसम्बन्धको अध्ययन भए पनि ठोस पहल नभएको बताएका छन् । उनका अनुसार ३१ वटा कानुनको सरलीकरण आवश्यक थियो र वन तथा वातावरणसम्बन्धी समस्याका लागि समन्वित प्रणाली अपनाउनुपर्ने थियो ।
मन्त्री सिन्हाले भने, ‘सरकार, निजी क्षेत्र र नागरिकको दीर्घकालीन सोच र जिम्मेवारीका साथ ऊर्जा क्षेत्रको तुलनात्मक लाभलाई समृद्धिको आधार बनाउने अवसर छ ।’
उनले निजी लगानी र सार्वजनिक–निजी साझेदारीका सफल अभ्यासलाई अन्य क्षेत्रहरूमा पनि प्रयोग गर्न सकिने बताउँदै विद्युतीय क्षेत्रमा उदारीकरण र विदेशी लगानीको आगमन भइरहेको जानकारी दिएका छन् ।
सिन्हाले ऊर्जा क्षेत्रमा लगानीमैत्री वातावरण बनाउन सरकार निरन्तर पहल गरिरहेको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया